राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वैकल्पिक शक्तिहरूको केन्द्र बनेपछि नेकपा एमालेका तल्ला तहका नेताहरू भयग्रस्त छन्।
गण्डकी प्रदेशका एक नेताले मंगलबार सेतोपाटीसँगको अनौपचारिक कुराकानीमा नेपाली कांग्रेस र एमालेबीच चुनावी सहकार्यको सम्भावना व्यक्त गरेका थिए।
एमालेका आधारभूत तहका कार्यकर्ता मात्र नभइ माथिल्लो तहका नेताहरू कांग्रेस र एमालेबीच चुनावी सहकार्यको सम्भावना देख्न थालेका छन्। त्यसको प्रस्थानविन्दु राष्ट्रिय सभाको निर्वाचन हुन सक्ने अड्कलका बीच पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले त्यसको संकेत गरे।
राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुँदै छ। फागुन २० देखि राष्ट्रिय सभामा रिक्त हुने १९ मध्ये १८ स्थानका लागि माघ ११ गते निर्वाचन हुँदै छ। एक सिट सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने सिट खालि हुन लागेको हो।
चुनाव हुने १८ सिटमध्ये नेपाली कांग्रेस र एमालेबीच आधाआधा बाँड्ने गरी भित्रभित्रै कुरा भइरहेको चर्चा अहिले एमाले वृत्तमा व्याप्त छ।
यही चर्चाबीच मंगलबार प्रदीप ज्ञवाली अध्यक्ष रहेको मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको महाधिवेशनको सन्देश र राजनीतिक निकास विषयक विचार गोष्ठीमा उपाध्यक्ष बादलले आगामी निर्वाचनमा एमाले र कांग्रेस मिलेर जानुपर्ने धारणा राखे।
उनले यो विचार राखिरहँदा कार्यक्रमका प्रमुख वक्ता नै अध्यक्ष केपी शर्मा ओली थिए।
बादल कांग्रेस–एमालेबीचको सहकार्य मात्रैमा रोकिएनन्। उनले कांग्रेस र एमालेले आधाआधा हिस्सा लिनुपर्ने भन्दै सिट नै बाँडफाँट गरे।
प्रतिनिधि सभातर्फ १६५ सिट छ। त्यसमध्ये आधा वामपन्थी जित्ने र आधा लोकतन्त्रवादी विजयी हुनुपर्नेसमेत धारणा राखे।
‘नयाँ संसदमा वामपन्थी र लोकतन्त्रवादीहरूको वर्चस्व स्थापित गर्ने वा दुई शक्तिको वर्चस्व रहेको पुरानै संसद पुनर्स्थापना गरेर हामी फेरि लोकतन्त्रलाई स्थापित गर्न सक्छौं,’ उनले भने, ‘१६५ निर्वाचन क्षेत्र लोकतन्त्र पुनर्स्थापना लागि १६५ मोर्चा हो। आधामा वामपन्थी र आधामा लोकतन्त्रवादी विजयी हुने रणनीति बनाऔं। ११० समानुपातिकबाट आधा वामपन्थी र आधा लोकतन्त्रवादी आउने रणनीति बनाऔं।’
विगतका समयमा लोकतन्त्र खतरामा पर्दा वामपन्थीको नेतृत्व गरेर एमालेले र लोकतन्त्रवादीको नेतृत्व गरेर कांग्रेसले लड्दै आएको प्रसंग पनि उनले उक्काएका थिए। २०४६ सालको व्यवस्था परिवर्तन र २०६२–०६३ सालमा गणतन्त्र ल्याउन गरिएको संघर्षलाई उनले स्मरण गरेका हुन्। २०७२ सालमा नयाँ संविधान जारी गर्दा पनि कांग्रेस, एमालेबीच सहकार्यकै अवस्था थियो।
अहिलेको विषम परिस्थितिमा पनि दुई शक्तिहरूले मिलेर परिणाम हासिल गर्न रणनीति बनाउनुपर्ने थापाले बताएका थिए।
अदालत र सडकबाट पुरानो संसद पुनस्र्थापनाका लागि फागुन २१ गतेसम्मको समय रहेको उनको भनाइ थियो। ‘दुइटा बाटो हाम्रो अगाडि छ। यसबाट अगाडि बढ्न हामीले रणनीति तयार गर्न जरूरी छ,’ उनले भने।
चुनाव भएको खण्डमा नयाँ संसदमा पनि वामपन्थी शक्ति र लोकतन्त्रवादी शक्तिले ‘डिप स्टेटवादी’लाई परास्त गर्न रणनीति बनाउनुपर्ने उनको तर्क थियो।
उनको यो भनाइलाई एमालेका नेता कार्यकर्ताले रणनीतिक हिसाबले बुझेका छन्। पछिल्लो समय संस्थापनसँग कसिलो सम्बन्ध बनाएका बादल ओलीलाई रिझाउन प्रशस्त समय खर्चने गरेका छन्। २०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्दा त्यसलाई क्रान्तिकारी कदमको संज्ञा दिँदै बादल एमालेमै रहन राजी भएका थिए। त्यसो त बादलले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई ओलीभन्दा कसिलो आवाजमा प्रतिक्रान्ति भन्ने गरेका छन्।
त्यसैले ओलीको चाहना बादलबाट मुखरित भएको मान्नेहरू एमालेमा धेरै छन्। मंगलबारकै कार्यक्रममा नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पनि त्यसमा समर्थन भाव मात्र जनाएनन्, पार्टी सभापतिका सन्देश भन्दै कांग्रेस–एमालेबीच मुद्दामा सहकार्य हुने बताए।
देउवा निकट विश्वकर्माले सहकार्यको सम्भावना देख्नुको राजनीतिक अर्थ छ।
‘हामीले २०४६ सालको जनआन्दोलनमा सँगसँगै लड्यौं, २०६२–६३ को जनआन्दोलनमा पनि सँगसँगै लड्यौं। संविधान बनाउँदा हामी एक ठाउँमा उभियौं। अहिले फेरि संकट आएको छ। यो बेला फेरि हामीले डटेर, भिडेर लड्ने हो,’ उनले भने, ‘पार्टी सभापति शेरबहादुर देउवाको सन्देशका रूपमा म यहाँ भन्न चाहन्छु– दल विशेषका आधारमा कांग्रेसको न कसैसँग मित्रता हुन्छ, न दुष्मनी हुन्छ। हामी मुद्दामा सहकार्य गर्छौं। जनताको पक्षमा सहकार्य गर्छौं। त्यसैले संविधान पक्षधर शक्तिहरू मिलेर सबभन्दा पहिला अहिले देशमा लागेको आगो निभाउनुपर्नेछ, त्यसपछि विधि र व्यवस्था जोगाउन संयुक्त रूपमा लड्नुपर्नेछ।’
संविधान निर्माणका पक्षधर शक्तिहरूले अब सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेस विधि र व्यवस्थाका लागि एमालेसँग सहकार्य गर्ने र निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्ने पनि उल्लेख गरेका छन्। उनले एमालेको हालै सम्पन्न एघारौं महाधिवेशनले दिएका दुइटा सन्देश पनि सुनाए।
‘यो महाधिवेशनले दुइटा सन्देश दिएको छ— पहिलो, अस्थायी रूपमा त्रास दिनेहरूविरूद्ध दलहरू जुर्मुराएर उठे। दोस्रो, स्थापित राजनीतिक दलहरूलाई अस्थायी, अराजनीतिक झुन्डले पराजित गर्न सक्दैन।’
व्यवस्था स्थापित भइसकेपछि हार्दिकताका साथ निर्वाचनमा प्रतिस्पर्धा गर्न पनि उनले आग्रह गरे। व्यवस्था स्थापित भइसकेपछि हामी हाँसी हाँसी, मनमा तिक्तता लिएर होइन, हार्दिकताका साथ निर्वाचनमा प्रतिस्पर्धा गरौं,’ उनले भने।
पार्टीमा पहिलो वरीयताका उपाध्यक्ष बन्न लागेका बादल र कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सहकार्यको सम्भावना देखाउँदै विगत स्मरण गरिरहँदा ओलीले भने यसबारे मुख खोलेनन्।
‘निर्वाचन पर्खिरहेका छौं’ भन्दै उनले चुनावका लागि तयार रहन कार्यकर्ता पंक्तिलाई निर्देशन दिए।