नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्यो।
बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय सभा निर्वाचनमा 'संविधान बनाउने र जोगाउने दलहरूबीच सहकार्य गर्दै एकताको सन्देश दिने' भन्दै विभिन्न दलहरूसँग भएका छलफलबारे ब्रिफिङ गरे।
साथै उनले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनबारे छलफलको एजेन्डा रहेको बताए।
केन्द्रीय कार्यसम्पादन समिति सदस्य अर्जुननरसिंह केसीले विधानको धारा १७ को उपधारा २ अनुसार विशेष महाधिवेशन बाध्यकारी रहेको र विशेष महाधिवेशनमा आफू सहभागी हुने कुरा बताएका थिए।
‘विशेष महाधिवेशन बाध्यकारी छ, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते नै हस्ताक्षर बुझाएर माग गरेअनुसार पुस २८ गतेभित्र विशेष महाधिवेशन आयोजना हुनुपर्छ, म विशेष महाधिवेशनमा जान्छु, कारबाही गरेर देखाऊ,’ केसीका भनाइ उद्धृत गर्दै एक केन्द्रीय कार्यसम्पादन समिति सदस्यले भने।
केसीलाई लक्ष्य गर्दै प्रदेश सभापति वीरबहादुर बलायरले 'विशेष महाधिवेशनमा जान्छु भन्नेलाई नजाऊ भन्न नसकिने' कुरा बैठकमै राखेको ती कार्यसम्पादन समिति सदस्यको भनाइ छ।
केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि पनि बस्नेछ।