अमेरिकाले इरानमाथि पुनः ठूलो सैन्य आक्रमण गर्ने सम्भावना बढिरहेका बेला युद्ध रोक्न र दुई देशबीच वार्ता पुनः सुरू गराउन कतारको नेतृत्वमा क्षेत्रीय कूटनीतिक प्रयास भइरहेको छ।
कतारले इरानलाई उसका क्षतिग्रस्त आणविक केन्द्रमा संयुक्त राष्ट्रसंघका निरीक्षकलाई प्रवेश दिन मनाउने प्रयास गरिरहेको भनेर अमेरिका, इसराइल र मध्यपूर्वका तीन स्रोतलाई उद्धृत गर्दै अमेरिकी अनलाइन एक्सियसले जनाएको छ। त्यसको बदलामा अमेरिकाले इरानमाथिका केही आर्थिक प्रतिबन्ध खुकुलो पार्ने प्रस्ताव अघि सारिएको छ।
सहमति हुन नसके अमेरिकामा अर्को हप्ता हुने संसदीय निर्वाचन सकिए लगत्तै इरानमाथि पुनः बमबारी सुरू हुन सक्ने आकलन छ। सम्भावित आक्रमणमा इरानी नेतृत्व, ऊर्जा क्षेत्र, आणविक केन्द्र र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी एक सातासम्म व्यापक हवाई हमला हुन सक्ने अमेरिकी तथा इसराइली अधिकारीहरूले बताएका छन्।
सम्भावित सैन्य कारबाहीको तयारी स्वरूप इसराइली सेनाका प्रमुख इयाल जमिरले सोमबार अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) का प्रमुख एडमिरल ब्र्याड कुपरसँग कुराकानी गरेका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एक्सियससँगको संक्षिप्त कुराकानीमा मध्यस्थकर्ता मार्फत इरानसँग वार्ता भइरहेको पुष्टि गरेका छन्। यद्यपि वार्ताले सहमतिको रूप लिन्छ कि लिँदैन भन्ने निश्चित नभएको उनले बताए।
‘हामीले यो काम पूरा गर्नुपर्छ। सम्झौता मार्फत होस् वा अर्को कुनै तरिकाले। वार्ता सफल हुन्छ कि हुँदैन, त्यो हेर्न बाँकी छ,’ ट्रम्पले भने।
इरानी विदेश मन्त्री अब्बास अराग्चीले पनि कूटनीतिक समाधानको सम्भावना कायम रहेको बताएका छन्। बुधबार सामाजिक सञ्जाल एक्समा उनले इरान कूटनीतिलाई सफल हुने अवसर दिइरहेको उल्लेख गरेका थिए।
कतारको प्रस्तावमा के छ?
वार्ताको मध्यस्थता कतारले गरिरहेको छ। पाकिस्तान, साउदी अरब, इजिप्ट र टर्कीले पनि त्यसमा सहयोग गरिरहेका छन्। कतारी वार्ताकार अली अल-थवाडीले सम्भावित सम्झौताबारे छलफल गर्न यसै साता तेहरान पुगेर इरानी अधिकारीहरूसँग भेट गरेका थिए।
इरानसँग रहेको प्रशोधित युरेनियमको भण्डार त्याग्नुपर्ने अमेरिकी माग र पहिले अमेरिकी नौसैनिक नाकाबन्दी हटाउन तथा रोक्का राखिएका इरानी रकम फुकुवा गर्नुपर्ने तेहरानको अडानबीच सहमति खोज्ने प्रयास भइरहेको स्रोतहरूले बताएका छन्।
इरानले प्रस्ताव स्वीकार गरे निर्वाचनपछि हुन सक्ने ठूलो सैन्य आक्रमण रोक्ने अवसर प्राप्त हुने सन्देश मध्यस्थकर्ताहरूले दिएको बताइएको छ। साउदी अरब, टर्की र पाकिस्तानका सुरक्षा अधिकारीहरूले पनि केही दिनअघि तेहरान भ्रमणका क्रममा यही सन्देश दिएका थिए।
क्षेत्रीय स्रोतका अनुसार इरानले प्रस्तावबारे सर्वोच्च नेता मोज्तबा खमेनीको स्वीकृति लिने जनाएको छ। साउदी अधिकारीहरूले इरान सम्भावित अमेरिकी–इसराइली आक्रमणप्रति चिन्तित रहेको जानकारी अमेरिकालाई गराउँदै ट्रम्पलाई युद्धमा हतार नगर्न र वार्ताका लागि थप समय दिन आग्रह गरेका छन्।
आणविक निरीक्षण पुनः सुरु गर्ने प्रस्ताव
छलफलमा सन् २०२५ सेप्टेम्बरमा इरान र अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आईएईए) बीच कायरोमा भएको सहमतिलाई पुनर्जीवित गर्ने विकल्प पनि छ। उक्त सहमतिले संयुक्त राष्ट्रसंघका निरीक्षकलाई इरानका आणविक केन्द्रमा पुनः भ्रमण गर्न अनुमति दिएको थियो। तर त्यसको एक महिनापछि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले इरानमाथि प्रतिबन्ध पुनः लागू गरेपछि सहमति निलम्बन भएको थियो।
आईएईएका महानिर्देशक राफेल ग्रोसीले मंगलबार सुरक्षा परिषदमा उक्त सहमतिलाई पुनः लागू गर्दा अमेरिकी र इसराइली आक्रमणबाट क्षतिग्रस्त आणविक केन्द्रको निरीक्षण सुरू गर्न आधार तयार हुने बताएका थिए।
प्रस्ताव अनुसार इरानले निरीक्षकलाई प्रवेश दिए तेल बिक्री गर्न केही छुट पाउन र रोक्का रकमको एक हिस्सा खाद्यान्न तथा अन्य मानवीय सामग्री खरिदका लागि प्रयोग गर्न सक्नेछ।
यसबीच अमेरिकाले इरानको प्रतिक्रियापछि मात्रै प्रस्तावित सम्झौताबारे आफ्नो धारणा तय गर्ने जनाएको छ। अमेरिकी अधिकारीहरूका अनुसार ट्रम्पले विदेश मन्त्री मार्को रुबियो र विशेष दूत स्टिभ विटकफसँग इरानबारे छलफल गरिसकेका छन्।
ह्वाइट हाउसका एक अधिकारीले अमेरिकाले स्ट्रेट अफ हर्मुजमा नियन्त्रण कायम राखेको र इरानको अर्थतन्त्र कमजोर भइरहेको दाबी गर्दै द्वन्द्व चाँडै अन्त्य हुने बताएका छन्। तर कूटनीतिक प्रयास सफल हुन्छ वा युद्ध पुनः चर्किन्छ भन्नेबारे अझै स्पष्ट भइसकेको छैन।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)