नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरका नेताहरूले आज केन्द्रीय कार्यालय पुगेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ध्यानाकर्षण पत्र बुझाउन खोजे पनि कार्यवाहक सभापतिले पत्र बुझ्न मानेनन्।
केन्द्रीय कार्यसम्पादन समिति बैठकमा रहेका कार्यवाहक सभापति खड्कालाई विशेष महाधिवेशन पक्षधरका नेता देवराज चालिसे सहितले पत्र बुझाउन समय माग गर्दै मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत् खबर पठाए पनि कार्यवाहक सभापति खड्काले ध्यानाकर्षण पत्र नबुझी कार्यालयबाट बाहिरिएको नेताहरूको भनाइ छ।
‘हामीले विशेष महाधिवेशनबारे कार्यवाहक सभापतिलाई ध्यानाकर्षण पत्र बुझाउन लागेका थियौं, उहाँले पत्र बुझ्न समय नै दिनुभएन, कार्यालयबाट बाहिरिनुभयो। यतिमात्र होइन ध्यानाकर्ष पत्र दर्तासमेत गर्न आनाकानी गरियो, कर्मचारीहरूले पत्र दर्ता गर्न माथि सोध्नुपर्छ भन्नुभयो,’ विशेष महाधिवेशन पक्षधर एक नेताले भने।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति खड्कालाई नै हस्ताक्षर बुझाएका थिए। विधानको धारा १७ को २ अनुसार ३ महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने भए पनि यसको प्रक्रिया केन्द्रीय कार्यसमिति र कार्यवाहक सभापति खड्काले अघि बढाएका थिएनन्।
विशेष महाधिवेशन पक्षधरले पुस २७ गतेदेखि विशेष महाधिवेशन गर्ने भन्दै भृकुटीमण्डपमा हल बुकिङसमेत गरिसकेका छन्।
विशेष महाधिवेशन पक्षधर नेता देवराज चालिसेले ध्यानाकर्षण पत्र केन्द्रीय कार्यालयबाहिर पढेर सुनाएका थिए। उनले केन्द्रीय समितिले विशेष महाधिवेशन आयोजना गर्नुपर्नेमा जोड दिए।
‘पार्टीले विधानको सर्वोपरिलाई स्वीकार गर्न नसकेको हाम्रो ठहर छ, विधानको कुन धाराको अधिकार प्रयोग गरेर विशेष अधिवेशन औचित्य नरहेको एकतर्फी निर्णय गरिएको हो?,’ चालिसेले प्रश्न गरे।
पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्न उनीहरूले पार्टीलाई आग्रह गरेका छन्।
‘वैशाखमा महाधिवेशन गर्ने पुस १८ को निर्णय त्रुटिपूर्ण निर्णय सच्याएर विशेष महाधिवेशन आयोजना गर्न केन्द्रसमक्ष पुन: अनुरोध गर्दछौं,’ ध्यानाकर्षण पत्रमा उल्लेख छ।
उनले विधानभन्दा माथि पार्टी नरहेको पनि बताए। पार्टीले विशेष महाधिवेशन पक्षमा हस्ताक्षर गरेकालाई काठमाडौं नआऊ भनेर भन्न नमिल्ने पनि उनको भनाइ छ।
संस्थापन पक्षका एक केन्द्रीय कार्यसम्पादन समिति सदस्यले भने विशेष महाधिवेशनको अहिले औचित्य नभएकोले सबैलाई चुनावमा केन्द्रित हुन आग्रह गरिएको बताए।
‘त्यसैले पनि विशेष महाधिवेशन पक्षधरको ध्यानाकर्षणको अर्थ छैन,’ सभापति शेरबहादुर देउवानिकट ती नेताले भने, ‘अहिलेको अवस्थामा आमचुनावमै केन्द्रित रहनुपर्छ। महाधिवेशन वैशाखमा हुन्छ। हामी विशेष महाधिवेशन हुन दिँदैनौं, हस्ताक्षर फिर्ता पनि गराउन लाग्छौं, त्यो जिम्मेवारी हामीलाई प्राप्त पनि भइसकेको छ।’
