नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालबीच भेटवार्ता भएको छ।
भारत भ्रमणमा रहेका प्रचण्डले आइतबार नै डोभालसँग भेटेको भारतीय समाचार संस्था 'न्युज १८' ले जनाएको छ।
समाचारका अनुसार डोभालले एक होटलमा डिनर मिटिङका लागि प्रचण्डलाई आमन्त्रण गरेका थिए।
उनीहरूबीच जेनजी आन्दोलन, त्यसपछिको राजनीतिक घटनाक्रम र आउँदो फागुन २१ गते हुने निर्वाचन लक्षित कुराकानी भएको थियो।
डोभालले नेपालमा हुन लागेको निर्वाचन राष्ट्रिय स्थिरताका लागि आवश्यक भएको जिकिर प्रचण्डसँग गरेका थिए।
उनले निर्वाचनलाई स्वागत गर्दै यसले नै लोकतन्त्रको रक्षा हुने बताएको न्युज १८ ले जनाएको छ।
डोभालले पटक पटक निर्वाचनमा जानु नै उपयुक्त हुने कुरा बताएको समाचारमा उल्लेख छ।
प्रचण्डले पनि नेपालका राजनीतिक दलहरूको मत पनि निर्वाचनमा जानु नै रहेको र यस विपरीत कोही नरहेको पनि बताएका थिए।
उक्त भेटमा प्रचण्डकी छोरी गंगा पनि उपस्थित थिइन्।
प्रचण्ड भारतको दिल्लीमा हुने नेकपा एकता सन्देश सभा र साक्षात्कार कार्यक्रममा सहभागी हुन आइतबार दिल्ली गएका हुन्।