नेपाली कांग्रेसले मंगलबार बिहान ११ बोलाएको केन्द्रीय कार्यसम्पादन बैठक २ घन्टा पर सारेको छ।
आइतबार सुरू कार्यसम्पादन समितिको बैठकमा राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवारी चयन, विशेष महाधिवेशन लगायतका विषयमा छलफल भइरहेको छ।
मंगलबार पनि बिहान बैठक राखिएकोमा दिउँसो १ बजेलाई सारिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनामा उल्लेख छ।
सोमबारको बैठकमा नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समावादी पार्टी नेपालसँग सहकार्य गरेर जानेबारे छलफल भइरहेको ब्रिफिङ गरेका थिए।
उनले संविधान बनाउने र रक्षा गर्ने शक्तिहरू मिल्नुपर्ने भन्दै त्यसका लागि चार दलबीच सहकार्यको तयारी भइरहेको ब्रिफिङ गरेका हुन्।
बुधबार राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ताको कार्यतालिका छ। कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी नेपालबीच चुनावी तालमेलबारे छलफल भइरहेको छ।