नेपाली कांग्रेसका ३० जना केन्द्रीय सदस्यहरूले नेता शेखर कोइरालालाई भेटेका छन्।
चुनावअघि महाधिवेशनका पक्षमा उभिएका सभापति शेरबहादुर देउवा पक्षका ३० जना केन्द्रीय सदस्यहरूले नेता कोइरालासँग आज बिहान साढे २ घन्टा कुराकानी गरेका हुन्।
पार्टीभित्र देखा परेको विवाद समाधान गर्ने विषयमा अग्रसरता लिन उनीहरूले कोइरालालाई आग्रह गरेका थिए। केन्द्रीय कार्यसम्पादन समितिको पुस १८ गतेको बैठकले बहुमतका आधारमा वैशाखमा महाधिवेशन सारेपछि महामन्त्रीलगायत ५ जना नेताहरूले फरक मत राखेका थिए।
नेता कोइरालाले बहुमतको निर्णय मान्न आफू बाध्य भएको बताए पनि फरक मत राखेका थिएनन्। उनी विशेष महाधिवेशन पक्षमा पनि खुलेका छैनन्। केन्द्रीय कार्यसमितिले सर्वसम्मत रूपमा निर्णय गरेर विशेष महाधिवेशन गर्न सक्ने भने बताएका थिए।
‘हामीहरूले नेता कोइरालासँग पार्टीभित्रका विवाद समाधानका विषयमा विभिन्न मोडालिटीमा कुराकानी गर्यौं,’ छलफलपछि केन्द्रीय सदस्य आङगेलु शेर्पाले सेतोपाटीसँग भने।
पार्टीभित्रका विवाद न्यूनीकरण गरेर जाने विषयमा नेता कोइराला सकारात्मक देखिएको पनि उनले बताए। ‘हामीले सबै पक्षका नेताहरूसँग भेटेर कुराकानी गरिरहेका छौं, पार्टीभित्र देखिएका विवाद समाधान गरेर जानुपर्छ,’ उनले भने।
भेटमा नेता कोइरालाले राष्ट्रिय सभामा गठबन्धन गर्न लागे पनि प्रतिनिधि सभामा कसैसँग पनि गठबन्धन नहुने कुरा बताएका थिए।
‘एमालेका केही नेताहरूले प्रतिनिधि सभामा पनि गठबन्धन गरौं भन्ने कुरा गरेको हो, कांग्रेसले प्रतिनिधि सभामा कसैसँग पनि गठबन्धन गर्दैन,’ उनले भने।
विशेष महाधिवेशन आयोजना हुन लागेको विषयमा नेता कोइरालाले मध्यमार्गी बाटो खोज्नुपर्ने कुरा राखेका थिए।
यसअघि उनीहरूले सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मासँग पनि भेटेका थिए। पार्टी विभाजन गर्न नहुनेमा उनीहरूले जोड दिएका थिए।