नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सहमतिकै आधारमा विशेष महाधिवेशन बोलाउनुपर्ने बताएका छन्।
सभापति शेरबहादुर देउवानिकट ३० केन्द्रीय सदस्यहरूसँग आज बिहान सम्पर्क कार्यालय विशालनगरमा कुराकानी गर्दै कोइरालाले सहमतिकै आधारमा विशेष महाधिवेशन बोलाउनुपर्ने बताएका हुन्।
‘सहमतिका आधारमा केन्द्रीय समितिले विशेष महाधिवेशन आह्वान गर्नुपर्छ,’ कोइरालाका भनाइ उद्धृत गर्दै उनको सचिवालयले भनेको छ, ‘अहिले राष्ट्रिय सभा र प्रतिनिधि सभा समानुपातिक उम्मेदवार टुंगो लगाउनुपर्ने बेला छ। यसकारण विशेष महाधिवेशन पक्षधरहरूसँग छलफल गरी माघ ६ गतेपछि विशेप महाधिवेशन बोलाउँदा उचित हुन्छ।’
कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएर विशेष महाधिवेशन माग गरेका थिए। विधानअनुसार ३ महिनाभित्र (पुस २८) गतेभित्र महाधिवेशन बोलाउनुपर्ने हुन्छ। तर केन्द्रीय कार्यसम्पादन समितिको पुस १८ को बैठकले विशेष महाधिवेशनको औचित्य नभएको भन्दै बहुमतका आधारमा वैशाखमा १५ औं महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको थियो।
त्यसबेला महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित ५ जना नेताले फरक मत राखे पनि शेखर कोइरालाले फरक मत राखेका थिएनन्। उनले आफूनिकट नेताहरूसँग बहुमतको निर्णय मान्न आफू बाध्य भएको बताउने गरेका थिए।
सभापति देउवानिकट ३० केन्द्रीय सदस्यहरूसँगको भेटमा भने कोइरालाले विशेष महाधिवेशन केन्द्रीय समितिको आह्वानमा बोलाउन सकिने कुरा गरेका हुन्। यसरी विशेष महाधिवेशन बोलाउँदा एकताको सन्देश जाने पनि कोइरालाको भनाइ थियो।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मामाथि भने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पुस २७ र २८ मा विशेष महाधिवेशन गर्न दबाब दिइरहेका छन्। त्यसको तयारीमा उनीहरू लागेका छन्।
फरक प्रसंगमा कोइरालाले नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धन गर्न नहुने बताए। गठबन्धनले प्रत्यक्ष निर्वाचनमा दुई चार सिट बढी आउने भए पनि समानुपातिका मत घट्ने र कांग्रेसलाई दीर्घकालिन हानी हुने उनको भनाइ रहेको सचिवालयले जनाएको छ।
आगामी निर्वाचनमा नेपाली कांग्रेसले एक्लै चुनावमा जानु पर्ने कुरामा आफू स्पष्ट भएको कोइरालाले बताएका थिए।
उक्त भेटमा केन्द्रीय सदस्य पुष्पा भुषालले आफूहरू पार्टीभित्र देखिएको विवाद समाधानका लागि शीर्ष नेताहरूसँग भेटवार्ता गरिरहेको बताएकी थिइन्।
आफूहरु कुनै पक्षको नभएको तर पार्टीभित्रको विवादले चिन्तित बनाएर समाधानका लागि सबैसँग पहल गरिरहेको उनको भनाइ थियो।
उनले मध्यमार्गी बाटो पहिल्याउन कोइरालालाई आग्रह गरेकी थिइन्।
अधिकांश केन्द्रीय सदस्यहरुले विशेष महाधिवेशनलाई चुनावी घोषणा सभाको रूपमा रुपान्तरण गरेर निर्वाचनमा जानु पर्ने बताएका थिए।
पार्टीको संस्थापन र विशेष महाधिवेशन पक्षधरको हठले पार्टी चरमा विवादमा फस्दै गइरहेको उनीहरूको भनाइ थियो।दुवै पक्षसँग समन्वय गरी मध्यमार्गी विकल्प पहिल्याउने उनीहरूले कोइरालालाई आग्रह गरेको उनको सचिवालयको भनाइ छ।