नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र विदेशी शक्ति चुनाव सार्न लागेको ब्रिफिङ गरेका छन्। मंगलबार जारी सचिवालय बैठकमा सरकार र केही विदेशी शक्तिहरू आफै निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने षड्यन्त्र गरिरहेको धारणा राखेका हुन्।
‘सचिवालय बैठकमा अध्यक्ष ओलीले वर्तमान राजनीतिक परिस्थितिबारे गम्भीर हुनुपर्ने धारणा राख्नुभएको छ। उहाँले देशमा तत्काल निर्वाचन हुने वातावरण अझै बनिनसकेको र सरकार र केही विदेशी शक्तिहरू आफै निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने षड्यन्त्र गरिरहेको बताउनुभयो,’ एक नेताले भने।
बैठकमा अध्यक्ष ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई समेत निरन्तर दबाब र धम्की दिने र संसद पुनर्स्थापना हुन नदिने कार्यमा दबाब दिइरहेको बताएको ती नेताको दाबी छ।
‘यसले लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर प्रश्न उठाएको उहाँले बताउनुभयो। नेपालको अस्तित्व र राष्ट्रिय अखण्डता जोगाउने कार्य चुनौतीपूर्ण बन्दै गएको छ र वैदेशिक हस्तक्षेप नांगो रूपमा देखिन थालेको धारणा पनि राख्नुभयो,’ ती नेताले भने।
यस्तो परिस्थितिमा पार्टीले आन्दोलनलाई जुझारू र सशक्त ढंगले अघि बढाउनुपर्ने ओलीले बताएका थिए।
प्रत्येक तहमा युवाको सक्रिय परिचालन गर्दै टोल–टोलमा नेसनल युथ भोलिन्टियर्स फोर्स गठन गर्नुपर्ने र निर्वाचनको तयारी आन्दोलनकै मैदानबाट सुरू गर्नुपर्ने ओलीको धारणा थियो।