नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौला पन्तले विशेष महाधिवेशन विधानअनुसार माग भएकोले यसको औचित्य छैन भन्न नमिल्ने बताएकी छन्।
त्यसैले पार्टीभित्र देखा परेको विवादलाई समाधान गरेर जानुपर्ने उनले बताइन्।
उनीसहित कांग्रेसका ३० केन्द्रीय सदस्यले आज नेता शेखर कोइरालालाई भेटेका थिए।
उक्त भेटमा भएका कुराबारे जानकारी दिँदै केन्द्रीय सदस्य डिला संग्रौला पन्तले भनिन्, ‘विशेष महाधिवेशन विधानअनुसार माग भएको हो। यसको औचित्य छैन भन्न मिल्दैन।’
पुस १८ गतेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशनको औचित्य छैन भन्दै बहुमतका आधारमा वैशाखमा १५ औं महाधिवेशन गर्ने कार्यतालिका पारित गरेपछि कांग्रेसमा मतभेद छ।
‘चुनाव आएको छ, नेतृत्व अधिवेशन गर्न नसके पनि संकल्प वा नीति अधिवेशनमा रूपान्तरण गर्न सकिन्छ,’ उनले भनिन्, ‘पार्टीभित्र एकता हुनुपर्छ, वैकल्पिक शक्ति आउने तर कांग्रेस कमजोर हुने कुरा कुनै हालतमा हुनु हुँदैन। पार्टीभित्रका विवाद समाधान गर्नुपर्छ भनेर हामीले शीर्ष नेताहरूलाई भेटेर भनिरहेका हौं।’
उनकाअनुसार प्रतिनिधि सभा निर्वाचनमा पार्टीले कसैसँग पनि गठबन्धन गर्न नहुने बताइन्। महासमिति बैठकले कसैसँग पनि गठबन्धन नगर्ने भनेकोले अब चुनावमा गठबन्धन गर्न नहुने उनको भनाइ छ।
समानुपातिक उम्मेदवार बनाउँदा पनि केही त्रुटि देखा परेकोले सच्याएर जानुपर्नेमा उनले जोड दिइन्।