नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रवादी शक्तिहरूलाई योजनाबद्ध रूपमा बदनाम गर्ने षड्यन्त्रका साथ विभिन्न दाग लागेका र अक्षम व्यक्तिहरूलाई एक ठाउँमा जम्मा गरिएको टिप्पणी गरेका छन्।
अध्यक्ष ओलीले जारी सचिवालय बैठकमा विकासको नाममा आइएनजिओ र डोनरको एजेन्डा बोकेर आउनेहरू एक ठाउँमा भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता मनोनीत भएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, ऊर्जा मन्त्री कुलमान घिसिङ लक्षित टिप्पणी गरेका हुन्।
‘कतिपय व्यक्ति नियतवश विनाशकारी भूमिकामा उत्रिएका छन् भने कतिपय स्वार्थ बोकेर ठगी, भ्रष्टाचार र वैदेशिक शक्तिको दलालीमा संलग्न भएका छन्। विकासको नाममा आइएनजिओ र डोनरको एजेन्डा बोकेर आउने, राष्ट्रवादी शक्तिहरूलाई योजनाबद्ध रूपमा बदनाम गर्ने षड्यन्त्रका साथ विभिन्न दाग लागेका र अक्षम व्यक्तिहरूलाई एक ठाउँमा जम्मा गरिएको देखिन्छ,’ उनले भने।
नेपाली जनताको देशभक्ति र राष्ट्रियताको भावना अत्यन्त सशक्त भएकै कारण भदौ २३ र २४ गते भएका घटनालाई महान उपलब्धि भनेर दाबी गर्ने साहस उनीहरूले नगरेको ओलीले बताएका छन्।
‘न त उक्त आन्दोलनको जस लिन सके, न त देशलाई क्षति पुर्याउने भारीबाट पन्छिन सके। अन्ततः देश ध्वस्त बनाउने कामको जिम्मेवारी उनीहरूले नै लिनुपर्ने अवस्था आएको छ,’ ओलीको भनाइ छ।
धनुषा र वीरगन्जमा सामाजिक विद्वेष भड्काउने तथा द्वन्द्व मच्चाउने गतिविधिहरू भइरहेकोप्रति ओलीले गम्भीर हुनुपर्ने बताएका थिए। यस्ता गतिविधिहरूले सामाजिक सद्भाव, आपसी विश्वास र राष्ट्रिय एकतामा गम्भीर असर पार्न सक्नेतर्फ सचेत रहनुपर्ने उनको धारणा थियो।
‘त्यसैले तत्काल यी क्रियाकलाप रोक्न, दोषीमाथि कारबाही गर्न र शान्ति–सद्भाव कायम राख्न सरकार तथा सम्बन्धित सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न हार्दिक अनुरोध गर्दछौं,’ ओलीले बैठकमा भने।