नेकपा एमाले सचिवालय बैठकले पार्टीको नीति अनुसन्धान प्रतिष्ठानको अध्यक्षमा ईश्वर पोखरेललाई हटाएर विष्णु रिमाललाई ल्याएको छ।
मंगलबार बसेको सचिवालय बैठकले पार्टीका नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो। पोखरेलले गत महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए। रिमाल भने उपमहासचिवमा पराजित भएका थिए।
‘नयाँ नेतृत्व आए पनि पार्टीका निकायहरूको नेतृत्व पनि हेरफेर गर्नुपर्ने हुन्छ, अहिले उहाँलाई प्रतिष्ठानबाट हटाउनु उपयुक्त हुन्छ भनेर अध्यक्षज्यूले भन्नुभयो,’ ती नेताले भने।
उपमहासचिव योगेश भट्टराईले पोखरेललाई प्रतिष्ठानबाट हटाउनु नहुने बताएका थिए। पार्टीको नीतिबारे अध्ययन र विमर्श गर्ने संस्थाको परिचय पाएको संस्थाको नेतृत्व त्यसरी हटाउन नहुने उनले बताए थिए।
‘हामी चुनावमा जाँदै छौं। महाधिवेशनमा भएको प्रतिस्पर्धालाई लिएर यहाँ जिम्मेवारी नदिने भन्ने हुँदैन, यसले राम्रो सन्देश जाँदैन। चितवनमा महासचिवमा प्रत्यासी सुरेन्द्र पाण्डेको नाम नै सिफारिस नगर्ने, यहाँ अध्यक्षमा प्रत्यासी बनेका ईश्वर पोखरेल हटाउने कुराले राम्रो सन्देश जाँदैन,’ उनले भनेका थिए।
जबाफमा अध्यक्ष ओलीले रिमाल महाधिवेशनमा पराजित हुँदा आफूलाई दुःख लागेको भन्दै जिम्मेवारी दिनै पर्ने बताएका थिए।