नेपाली कांग्रेसमा विशेष महाधिवेशन चाहियो भन्दै घेराउ गरेपछि नेता विमलेन्द्र निधि रिसाएका छन्।
मंगलबार सानेपस्थित कांग्रेस केन्द्रीय कार्यालयमा विशेष महाधिवेशन पक्षधर कार्यकर्ताले घेराउ गरेका छन्।
कार्यालयमा हुने केन्द्रीय कार्यसम्पादनको बैठकमा सहभागी हुन आइपुगेका निधिलाई बाहिर कार्यकर्ताहरूले घेरेका थिए।
कांग्रेस कार्यकर्ताहरूले घेरेर उनलाई ‘विशेष महाधिवेशन हुन्छ कि हुँदैन दाइ?’ भनेर प्रश्न गरेका थिए।
यसरी प्रश्न गर्दै घेरेपछि निधि रिसाएर ती कार्यकर्तालाई लक्षित गर्दै, ‘कांग्रेसी होइनौं, को हो?’ भनेका थिए।
कार्यकर्ताले ‘कांग्रेस हो दाइ कांग्रेस’ भन्दै जबाफ फर्काएका थिए।
अहिले नेपाली कांग्रेसका नेताहरू दुई पक्षमा विभाजन भएका छन्।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गर्ने अडान लिएका छन्।
सभापति शेरबहादुर देउवा र उनीपक्षभरले भने नियमित महाधिवेशन गर्ने भन्दै विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न गर्दै आएका छन्।