नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय सभामा आफ्नो शक्ति अनुसार तीन प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले)सँग सहमति गरेर जाने प्रयत्न गर्ने निर्णय गरेको छ।
मंगलबार साँझ अबेर सकिएको पार्टी नेताहरूबीचको परामर्श बैठकले राष्ट्रिय सभामा तीन प्रमुख दलहरुबीच सहमति गरेर जानेबारे मिलाउन नेकपाले प्रयत्न गर्ने निर्णय गरेको नेता झलनाथ खनालले बताएका छन्।
त्यो राष्ट्रिय सभामा जुन दलको जति शक्ति छ त्यसैका आधारमा सिट बाँडफाँट गर्ने भनिएको हो।
'राष्ट्रिय सभामा सबैको स्ट्रेन्थ जुन छ। जस्तो हाम्रो जुन स्ट्रेन्थ हो त्यो स्ट्रेन्थको आधारमा सहमति गरेर जान प्रयत्न गर्ने कुराहरू भएको छ,' बैठकपछि खनालले भने।
यसबारे कांग्रेस र एमालेसँग नेकपाले छलफल गरेको भए पनि मनोननय दर्ताका दिनसम्म नमिलेको संयोजक प्रचण्डका स्वकीय गोविन्द आचार्यले जानकारी दिए।
'मतभारअनुसार तालमेल गरौं भन्ने हाम्रो प्रस्ताव थियो। तर समझदारी भएको छैन। नेकपाले उम्मेदवारी दिने तयारी गरेको छ। तलबाट सिफारिस भएर आएका नामहरूलाई हामी टुंगो लगाउँछौं,’ उनले भने।
राष्ट्रिय सभा निर्वाचनका लागि बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम छ।
त्यस अवधीसम्म सहमति नजुटे एमाले र कांग्रेसबीच गठबन्धन हुनेछ।
राष्ट्रिय सभामा १८ रिक्त सिटमध्ये दुई दलबीच गठबन्धन भए कांग्रेसले १० र एमालेले ८ सिट पाउने गरी भागबन्डा भएको छ।