भेनेजुएलामा सैन्य कारबाही गर्दै राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेपछि त्यहाँका गृहमन्त्री र रक्षामन्त्रीलाई पनि अमेरिकाले 'हिट लिस्ट' मा राखको छ।
अमेरिकी प्रशासनले मदुरोपछि भेनेजुएलाका कट्टरपन्थी गृहमन्त्री डियोसदादो काबेलो र रक्षामन्त्री भ्लादिमिर पाद्रिनोलाई निशाना बनाउने चेतावनी दिएको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
काबेलोलाई अमेरिकाको उद्धेश्य पूरा गर्नका लागि कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजलाई सहयोग गर्न र राष्ट्रपतिको पक्राउपछि उत्पन्न परिस्थिति नियन्त्रणमा राख्न अमेरिकाले चेतावनी दिएको हो।
त्यसमा असफल भए अमेरिकाको 'टार्गेट लिस्ट'मा गृहमन्त्री काबेलो पर्न सक्नेछन् भनेर उनलाई दबाब दिइएको रोयटर्सले जनाएको छ।
काबेलोलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संक्रमणकालीन स्थिरता कायम गर्न अस्थायी रूपमा भरोसा गरेका केही मदुरो समर्थकमध्ये एकका रूपमा हेरेको एक स्रोतले बताएको छ। तर, काबेलोले रोड्रिगेजसँगको पुरानो शक्ति–प्रतिस्पर्धाका कारण प्रक्रिया भाँड्न सक्ने चिन्ता वाशिङ्टनको छ।
अमेरिकी अधिकारीहरूले मध्यस्थमार्फत काबेलोलाई चेतावनी दिँदै असहयोगी भए मदुरोजस्तै नियति भोग्नुपर्ने वा जीवन नै जोखिममा पर्न सक्ने सन्देश पठाएको स्रोतको हवाला दिँदै रोयटर्सले लेखेको छ।
मादुरोलाई शनिबार अमेरिकी अपरेसनमा पक्राउ गरी ‘नार्को–आतङ्कवाद’ अभियोगमा न्यूयोर्क पुर्याइएको थियो।
काबेलोलाई हटाउने कदमले भने सरकार समर्थक मोटरसाइकल समूह ‘कोलेक्टिभो’ सडकमा उत्रिन सक्ने र अव्यवस्था बढ्ने जोखिम पनि अमेरिकी पक्षले आकलन गरेको छ।
संभावित लक्षित व्यक्तिहरूको सूचीमा रक्षामन्त्री पाद्रिनो पनि रहेको दुई स्रोतले बताएका छन्।
काबेलोजस्तै उनीमाथि पनि अमेरिकी लागूऔषध तस्करीसम्बन्धी अभियोग छ र बहुमूल्य इनाम घोषणा गरिएको छ।
'कानुन कार्यान्वयनका लागि अमेरिकी अपरेसन समाप्त भएको छैन,' अमेरिकी न्याय विभागका एक अधिकारीले रोयटर्ससँग भनेका छन्।
वाशिङ्टनले सशस्त्र बलमाथि उनको नियन्त्रणका कारण पाद्रिनोको सहकार्य सत्ता रिक्तता टार्न निर्णायक हुने ठानेको छ।
ट्रम्प प्रशासनका एक वरिष्ठ अधिकारीले रॉयटर्सका प्रश्नमा प्रत्यक्ष प्रतिक्रिया नदिए पनि विज्ञप्तिमा भेनेजुएलाका बाँकी तत्त्वहरूमाथि अधिकतम दबाब सिर्जना गरी अवैध आप्रवासन रोक्न, लागूऔषध प्रवाह थाम्न, तेल पूर्वाधार पुनर्जीवित गर्न र भेनेजुएलाली जनताको हितमा काम गराउन अमेरिकी प्रयास जारी रहेको बताएका छन्।
भेनेजुएलाको सञ्चार मन्त्रालयले भने यसमा कुनै प्रतिक्रिया दिएको छैन।
प्रशासनले नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचाडो नेतृत्वको विपक्षी शक्तिले तत्काल शान्ति कायम गर्न नसक्ने निष्कर्ष निकालेको स्रोतको दाबी छ।
अमेरिकी तेल कम्पनीहरूलाई विशाल तेल भण्डारसम्म पहुँच दिन र जमिनमा अमेरिकी सेना पठाउन नपरोस् भन्ने ट्रम्पको चाहनाअनुसार स्थिरता आवश्यक ठानिएको बताइन्छ।
यस सन्दर्भमा मादुरोका शीर्ष सहयोगीहरू नै अन्तरिम रूपमा देश चलाउन उपयुक्त हुने गोप्य सीआईए मूल्याङ्कनमा ट्रम्प सकारात्मक देखिएको स्रोतहरूले जनाएका छन्।