नेपाली कांग्रेसको विशेष महाधिवेशनको तयारी अघि बढेको छ।
यही पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन हुनेछ।
सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का अहिलेसम्म विशेष महाधिवेशन पक्षमा छैनन्।
पुस १८ को केन्द्रीय कार्यसम्पादन समितिले बहुमतका आधारमा वैशाख मसान्तमा १५ औं महाधिवेशन तोकेको थियो।
त्यसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित ५ जनाले फरक मत राखेका थिए।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएर विशेष महाधिवेशन माग गरेका थिए। तर त्यसअनुसार प्रक्रिया अघि बढेको थिएन।
विधानको धारा १७ को २ अनुसार हस्ताक्षर बुझाएको ३ महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने हुन्छ। विधानको यो व्यवस्था बाध्यकारी रहेको बताउँदै महामन्त्रीद्वयले विशेष महाधिवेशन हुने बताइरहेका छन्।
सम्भवत: आज विशेष महाधिवेशन आह्वान हुनेछ।
विशेष महाधिवेशनका लागि अहिलेसम्म के के तयारी भएको छ?
विशेष महाधिवेशन पक्षधर नेता बलदेव तिमिल्सिनाका अनुसार भृकुटीमण्डपस्थित हल, बगैंचा र पार्किङस्थल बुक गरिएको छ।
महाधिवेशनका लागि सुरक्षा व्यवस्थापन मिलाउन काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई पत्र दिइएको छ।
शान्ति सुरक्षा व्यवस्थापन मिलाउन भन्दै विशेष महाधिवेशन सचिवालयका तर्फबाट मनोजमणि आचार्यले प्रजिअलाई पत्र लेखेका हुन्।
साथै विशेष महाधिवेशन व्यवस्थापनका लागि १८ वटा समिति गठन भएका छन्।
पूर्वजिल्ला सभापति तथा पूर्वकेन्द्रीय सदस्य समन्वय, जनपरिचालन तथा जुलुस व्यवस्थापन, व्यवस्थापन समिति, प्रदेश सांसद समन्वय, पूर्वसांसद समन्वय, मञ्च व्यवस्थापन, स्वयमसेवक परिचालन, यातायात व्यवस्थापन, आवास तथा खाना व्यवस्थापन, सूचना तथा प्रचारप्रसार समिति गठन भएको छ।
साथै जिल्ला सम्पर्क समिति, भातृ तथा शुभेच्छुक संस्था समन्वय, जनसम्पर्क समिति, स्थानीय तह समन्वय, स्वास्थ्य शिविर समन्वय, साँस्कृतिक कार्यक्रम तयारी, जेनजी युवा परिचालन, जिल्ला क्षेत्र फोकल पर्सन समन्वय समिति गठन गरेर जिम्मेवारी दिइएको नेताहरूको भनाइ छ।
साथै दस्ताबेजहरू लेखन कार्य पनि चलिरहेको छ।
जिल्लाहरूबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आएका छन्। विदेशस्थित जनसम्पर्क समितिहरूबाट पनि प्रतिनिधिहरू आउने क्रम जारी रहेको नेताहरूको भनाइ छ।
साथै विशेष महाधिवेशन पक्षधरले हिजो पार्टी कार्यालयअघि भएका प्रदर्शनमा आफूहरूको संलग्नता नरहेको प्रष्टीकरण दिएको छ। कार्यसम्पादन समितिले पुस १८ मा महाधिवेशन सार्ने गरेको निर्णय स्वीकार्य नहुने उनीहरूको भनाइ छ।
केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार हस्ताक्षर फिर्ताका लागि केही नेताहरूले दबाब दिए पनि त्यसको प्रतिवादस्वरूप झन् जिल्लाहरूमा धेरै हस्ताक्षर भइरहेको बताएका छन्।
सभापति देउवा पक्षले भने विशेष महाधिवेशनको औचित्य नरहेको बताउने गरेको छ। नियमित महाधिवेशन कार्यतालिका आइसकेकोले विशेष महाधिवेशनको औचित्य सकिएको दाबी सभापति देउवा पक्षको छ।