सञ्चारमन्त्री जगदीश खरेलले आफूले चुनाव लड्नेबारे अहिलेसम्म कुनै निर्णय नगरेको बताएका छन्।
पत्रकार महासंघको भक्तपुर शाखाले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै खरेलले यो मामिलामा समाचारहरू अलिक फरक ढंगले आएको बताएका छन्।
'यो मितिसम्म म कुनै पनि पार्टीमा गएको पनि छैन । चुनाव उठछु वा उठ्दिन केही पनि भनेको छैन । तर समाचार अलिकति फरक ढंगले आइरहेको छ । त्यसप्रति मेरो आपत्ति केही छैन। तर सही समाचार चाहिँ आज म तपाईंहरूमार्फत भन्छु, मैले चुनाव उठ्ने अथवा नउठ्ने निर्णय गरेको छैन,' उनले भने।
अहिले आफ्नो र सरकारको ध्यान चुनाव गराउन रहेको पनि उनले बताएका छन्।
'म यहाँहरुलाई आज स्पष्ट पार्न चाहन्छु – मैले अहिलेसम्म चुनावमा उठ्ने वा नउठ्ने केही निर्णय गरेको छैन। दोस्रो कुरा यहाँहरूलाई म स्पष्ट पार्न चाहन्छु – म आजको दिनसम्म कुनै पनि पार्टीमा प्रवेश गरेको छैन, गएको छैन। वार्ता वा छलफल गरेको छैन,' उनले भने, 'आउँछु पनि भनेको छैन। जान्छु भनेको छैन। मैले केही पनि भनेको छैन। मेरो अहिले सम्पूर्ण ध्यान अन्तरिम सरकारका सम्माननीय प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारबाट चुनाव गराउनमा रहेको छ।'
खरेल रास्वपाको तर्फबाट चुनावमा उठ्नेबारे छलफल भएको भन्ने चर्चा थियो। तर उनले अहिलेसम्म आफूले यसबारे निर्णय नगरेको बताए।