नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले पुस २७ र २८ गते घोषित विशेष महाधिवेशन पार्टी सभापतिबाटै उद्घाटन गराउने प्रयास भइरहेको र त्यसका लागि आफूहरू अझै दुई दिन कुर्ने बताएका छन्।
विशेष महाधिवेशन पक्षधर नेता देवराज चालिसेले पार्टीलाई एकताबद्ध बनाएर लैजान सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायत सबै नेताहरूलाई उपस्थित भएर विशेष महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउन आह्वान गरे।
यसका लागि दुई जना महामन्त्रीसहित विशेष महाधिवेशन पक्षधर सबै जनाले प्रयास गरिरहेको उनले बताए।
'हामी अझै दुई दिन कुर्छौं, त्यो अवधिमा उहाँहरूले विशेष महाधिवेशनमा सहभागी हुन मञ्जुर गर्नुहुनेछ भन्ने हाम्रो आशा छ। कथंकदाचित् उहाँहरू आउनुभएन भने पनि विशेष महाधिवेशन हुन्छ,' नयाँबानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा चालिसेले भने, 'हामी देशभरबाट विशेष महाधिवेशनमा आउन चाहने साथीहरूलाई कहीँ कतै नअलमलिन र विशेष महाधिवेशन हुँदैन भन्ने अफवाहको पछाडि नलाग्न आह्वान गर्छौं।'
पुस २७ र २८ गते काठमाडौंमा कांग्रेसको विशेष महाधिवेशन घोषणा
नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले यही पुस २७ र २८ गते विशेष केन्द्रीय महाधिवेशन घोषणा गरेका छन्।
विशेष महाधिवेशन माग गर्दै प्रस्ताव दर्ता गरेका ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले अहिले नयाँबानेश्वरमा जारी पत्रकार सम्मेलनमा उक्त घोषणा गरेका हुन्।
'पार्टी विधानको मर्म र भावनालाई पूर्ण सम्मान गर्दै यही २०८२ पुस २७ र २८ गते काठमाडौंमा हुन गइरहेको विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको उत्साहपूर्ण सक्रिय उपस्थिति र सहभागिताका लागि हार्दिक आग्रह गर्दछौं। यसका लागि आवश्यक व्यवस्थापकीय तयारी तीव्र गतिमा भइरहेको जानकारी गराउन चाहन्छौं,' कार्यक्रममा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
विशेष महाधिवेशन पुस २७ गते भृकुटीमण्डपमा उद्घाटन हुने र त्यसपछिका विभिन्न कार्यक्रमका लागि उपसमितिहरू गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।
कार्यक्रममा जारी प्रेस विज्ञप्ति यस्तो छ —
वर्तमान जटिल तथा विषम राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई थप सुदृढ, गतिशील र जनभावना अनुकूल बनाउन, समसामयिक नीति निर्माण गर्न तथा नयाँ ऊर्जा र नेतृत्वसहित पार्टी पुनर्निर्माण गर्न विशेष महाधिवेशन अपरिहार्य भएको ठहर गर्दै, पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम हामी २,४८८ जना महाधिवेशन प्रतिनिधिहरू (कुलको ५४.५८ प्रतिशत) ले २०८२ असोज २९ गते केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएका थियौं। सोही सिलसिलामा पुस ११ गते स्मरणपत्र र पुस २१ गते पुनः ध्यानाकर्षण गराएका थियौं।
हामीले स्पष्ट रूपमा उल्लेख गरेका थियौं 'नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विधानको धारा १७(१) अनुसार २०८२ मंसिरभित्रै १५औं महाधिवेशन सम्पन्न गर्नुपर्छ। यदि त्यो सम्भव नभए १७ (२) बमोजिम विशेष महाधिवेशन आह्वान गरी विषम परिस्थितिको सम्बोधन गर्नुपर्छ।'
यसैबीच पार्टीले २०८२ पुस २८ भित्र १५औं महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक पनि गरेको थियो, तर तोकिएको समयमा १५औं महाधिवेशन सम्पन्न हुन सकेन। यस्तो अवस्थामा हाम्रो मागबमोजिमको विशेष महाधिवेशन स्वतः निर्विकल्प विकल्प बनेको छ।
विधानको धारा १७ (२) मा स्पष्ट बाध्यकारी व्यवस्था छ : 'केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले विशेष कारण खुलाई लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ।'
पार्टी विधानले विधानसम्मत प्रक्रिया पूरा गरी माग भएको विशेष महाधिवेशन नहुने परिकल्पना नै गरेको छैन। विधान बमोजिम कारण देखाएर माग गरेको विशेष महाधिवेशनलाई 'असान्दर्भिक वा औचित्यहिन' भन्ने अधिकार विधानले कसैलाई प्रदान गरेको छैन ।
यसअनुसार २०८२ पुस २८ भित्रै विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्छ। विधानको यो बाध्यकारी व्यवस्थालाई उल्लंघन गर्ने सुविधा कसैलाई पनि छैन। यो रहर वा छनोटको विषय होइन, विधानको बाध्यकारी प्रावधान हो ।
विधानको यो व्यवस्थालाई कार्यान्वयन गर्नु हामी सबैको साझा कर्तव्य र जिम्मेवारी हो।
अतः विधानको यही मर्म र भावनालाई पूर्ण सम्मान गर्दै यही २०८२ पुस २७ र २८ गते काठमाडौंमा हुन गइरहेको विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको उत्साहपूर्ण सक्रिय उपस्थिति र सहभागिताका लागि हार्दिक आग्रह गर्दछौं। यसका लागि आवश्यक व्यवस्थापकीय तयारी तीव्र गतिमा भइरहेको जानकारी गराउन चाहन्छौं।
पार्टी विधानको धारा १५ ले केन्द्रीय महाधिवेशनलाई पार्टीको सर्वोच्च अधिकारसम्पन्न निकाय मानेको छ र यसले लिने हरेक निर्णयहरूले आफैंमा वैधता प्राप्त गर्दछन्।
अतः हामीलाई विश्वास छ, पार्टी केन्द्रले आफ्नो दायित्व बुझ्नेछ र आयोजनाको स्वामित्व लिनेछ। विशेष महाधिवेशनलाई भव्य र सार्थक बनाउनु हामी सबैको साझा दायित्व हो। वर्तमान संवेदनशील घडीमा पार्टी विधानको सर्वोच्चतालाई अक्षुण्ण राख्दै नेपाली कांग्रेसको आन्तरिक एकतालाई थप सुदृढ बनाउन यो महाधिवेशन कोसेढुंगा साबित हुनेछ भन्ने हामीले पूर्ण विश्वास लिएका छौं। केन्द्रीय पदाधिकारीसहित पार्टीका सबै तह र निकायवाट यसमा पूर्ण योगदान र सहयोग प्राप्त हुने अपेक्षा गरेका छौं।
पार्टी रूपान्तरणको यो पवित्र अभियानमा देश–विदेशमा रहनुभएका सम्पूर्ण पार्टी सदस्य, शुभेच्छुक, सञ्चारजगत् तथा समस्त नेपाली आमा बुवा, दिदीबहिनी तथा दाजुभाइहरूसमक्ष हार्दिक सहयोग र साथका लागि विनम्र अनुरोध गर्दछौं।