नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभातर्फ गरेको उम्मेदवारी आह्वानप्रति टिप्पणी गरेका छन्। अध्यक्ष ओलीले पार्टीनिकट भूतपूर्व सैनिक प्रहरी संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै उम्मेदवार छान्न सडकबाट दरखास्त मागिएको बताएका हुन्।
‘अहिले कसैप्रति घोचपेच होला, संकेत होला मैले किन गरिरहने? तर अहिले देशलाई यस्तो मजाक बनाइएको छ। राजनीतिलाई यस्तो मजाक बनाइएको छ। राजनीतिक दललाई निषेध गर्ने, अनि राजनीतिक दलचाहिँ, अहिले उम्मेदवार हुन मन हुनेहरूले सडकबाट दरखास्त हाल!,’ उनले भने।
अध्यक्ष ओलीले यसरी आह्वान गर्दा कस्ता मान्छे आउलान्? झोला भरिएका कि, मस्तिष्क भरिएका? भन्दै टिप्पणी गरे।
‘कस्ता मान्छे आउलान्, देश चलाउन सक्ने मान्छे आउलान् कि, हल्ला गर्न सक्ने मान्छे आउलान्? सत्य बोल्ने मान्छे आउलान् कि झूट प्रचार गर्न सक्ने मान्छे आउलान्? अहिले प्रोजेक्ट गरिएका मान्छे हेर्दा आश्चर्य लाग्छ। योभन्दा देशको दुर्गति अरू हुन्छ? यस्तो मजाक देशसँग गरिन्छ? यस्तो खेलबाड देशको भविष्यसँग गरिन्छ? भइरहेको छ,’ उनले भने।
यस्तो अवस्थामा सञ्चारमाध्यम जति सजक हुनुपर्ने हो नभएको ओलीले बताए।
‘अलिकति तीतो हुन्छ हाम्रा सञ्चारमाध्यम जति सजक हुनुपर्ने हो भएका छैनन्, हाम्रो बौद्धिक जगत जति सजक हुनुपर्ने हो, भएको छैन। भावनामा बगेको देखिन्छ। भावनामा बगेर देश विकास हुँदैन, सुशासन आउँदैन। भ्रष्टाचार रोकिँदैन,’ उनले भने।