राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबाट तीन जनाले उम्मेदवारी दर्ता गरेका छन्।
राष्ट्रियसभा निर्वाचनमा सहकार्य गर्ने सहमति अनुसार कांग्रेस/एमालेको कांग्रेसबाट गुल्मीका चन्द्र केसी, दाङका बासुदेव घिमिरे ‘जंगली’ र एमालेबाट गुल्मीकी रामकुमारी झाक्रीको बुधबार घोराहीस्थित लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
आगामी माघ ११ गते हुने निर्वाचनका लागि घिमिरेले अपांग, केसीले अन्य र झाक्रीले महिला कोटामा उम्मेदवारी दर्ता गराएका हुन्।
कांग्रेस उम्मेदवारमध्ये दाङको लमही नगरपालिका – २ का घिमिरेको प्रस्तावमा दाङको बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री क्षेत्री र समर्थकमा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी बसेका छन्।
त्यस्तै, गुल्मी रेसुङ्गा नगरपालिका– ३ का कांग्रेसका उम्मेदवार केसीको प्रस्तावकमा दाङको दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी र समर्थकमा शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत बसेका छन्।
त्यस्तै गुल्मीकी एमाले नेता झाक्रीको प्रस्तावकमा दाङको घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी र समर्थकमा घोराहीकै उपप्रमुख हुमाकुमारी डिसी बसेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गहेन्द्र कुँवरले बताए।
उम्मेदवारी दर्ताका लागि कांग्रेस–एमालेका संयुक्त उम्मेदवारहरू र्याली सहित निर्वाचन अधिकृतको कार्यलय पुगेका थिए।