सरकारले नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ मन्त्रिपरिषद्बाट स्वीकृत गरी राजपत्रमा प्रकाशन गरेसँगै बुवाको पहिचान नखुलेकाको हकमा आमाको नामबाट नागरिकता प्रदान गर्ने नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयन हुने भएको हो।
नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्थालाई सहज बनाउन नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन, २०८२ गत असोज ५ गते राष्ट्रपतिबाट प्रमाणित भएको थियो।
उक्त संशोधन ऐनले गरेका व्यवस्थालाई कार्यान्वयनमा लैजान नागरिकता नियमावली, २०६३ मा चौथो संशोधन गरिएको हो।
के-के छन् नयाँ व्यवस्था
• विगतमा बुवा वा आमामध्ये एकले जन्मको आधारमा नागरिकता प्राप्त गरेकोमा एक जना नागरिकता नपाउँदै मृत्यु भएको वा सम्पर्कविहीन भएकाको सन्तानले नियमावलीले तोके बमोजिमको प्रक्रिया र कागजात पूरा गरेमा अंगिकृत नागरिकता प्राप्त गर्न सक्ने,
• नेपाली आमाबाट विदेशमा जन्मिएको भएता पनि विदेशको राहदानी वा नागरिकता नलिएको र बुवाको पहिचान खुलाउन नसकेका तथा नेपालमा स्थायी बसोबास गरेको व्यक्तिले नियमावलीले तोके बमोजिमको प्रक्रिया र कागजात पूरा गरेमा अंगिकृत नागरिकता प्राप्त गर्न सक्ने,
नयाँ व्यवस्था अनुसार बुवा र आमामध्ये कुनै एकले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेको र अर्को नागरिकता प्राप्त नहुँदै मृत्यु भएको वा होस ठेगाना नरहेकाको सन्तान, नेपाली आमाबाट विदेशमा जन्म भई बुवाको पहिचान नभई नेपालमा स्थायी बसोबास गरेका सन्तानका सम्बन्धमा प्रमुख जिल्ला अधिकारीले आवश्यक छानबिन गरी अंगिकृत नेपाली नागरिकता प्रदान गर्न सक्ने व्यवस्था थप गरिएको छ।
यसरी नागरिकता जारी गर्दा नियमावलीले तोकेका कागजातहरूको अतिरिक्त स्वघोषणालाई एक महत्वपूर्ण आधारको रूपमा लिइएको छ भने त्यसको लागि आवश्यक ढाँचाको व्यवस्था समेत पछिल्लो परिमार्जनले गरेको छ। त्यस्तै साविकमा वैवाहिक अंगिकृत बाहेकका अन्य अंगिकृत नागरिकता गृह मन्त्रालयको निर्णयमा मात्र प्रदान हुने गरेकोमा नयाँ कानूनी व्यवस्थाबाट उक्त अधिकार प्रमुख जिल्ला अधिकारीलाई अधिकार प्रत्यायोजन गर्न सकिने व्यवस्था गरी नागरिकता जारी गर्ने सम्बन्धमा प्रमुख जिल्ला अधिकारीलाई बढी जिम्मेवार बनाइएको छ।
त्यस्तै साविकका कानूनी व्यवस्थाले समेट्न नसकेको नाबालक परिचयपत्र वितरण सम्बन्धी विषय र भिसा लिनुपर्ने विदेशी महिलाले नेपाली पुरूषसँग विवाह गरेको अवस्थामा निजलाई वैवाहिक अंगिकृत नागरिकता प्रदान गर्नुपूर्व निजको नेपालको भिसा नियमित भएको हुनुपर्ने व्यवस्था समेत नियमावलीको पछिल्लो संशोधनले समेटेको छ।