कर्णाली प्रदेश सरकारले प्रादेशिक अस्पतालका लागि बजेट बाँडफाँट गरेको छ।
विगतमा रणनीतिक रूपमा डल्लो बजेट छुट्याइएको भए पनि बजेटको बाँडफाँट अहिले आएर गरेको हो।
बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिकपछि प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले सुर्खेतको सालकोट अस्पतालका लागि पञ्चपुरी नगरपालिकालाई एक करोड, दैलेखको दुल्लु अस्पतालका लागि दुल्लु नगरपालिकालाई थप एक करोड र जुम्लाको कालिका खेतु प्राथमिक स्वास्थ्य चौकीका लागि हिमा गाउँपालिकालाई थप एक करोड बजेट छुट्याइएको बताए।
सरकारका प्रवक्ता शाहका अनुसार इलाका प्रहरी कार्यालय राकम कर्णाली दैलेखको अधुरो भवन निर्माणका लागि ६० लाख रूपैयाँ सम्बन्धित इलाका प्रहरी कार्यालयमा अख्तियारी प्रदान गर्न संघीय सरकार, गृह मन्त्रालय र अर्थ मन्त्रालयको स्वीकृति माग गर्ने निर्णय भएको मन्त्री शाहले जानकारी दिए।
मन्त्रिपरिषद् बैठकले प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना, प्रादेशिक आयोजना व्यवस्थापन एकाइ सुर्खेत र ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाइ, सुर्खेतको अस्थायी दरबन्दी संरचना स्वीकृत गर्ने निर्णय पनि गरेको छ।