राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाका प्रत्यक्षतर्फका उम्मेदवारहरूका लागि आचार संहिता जारी गरेको छ।
उम्मेदवारका रूपमा औपचारिक आवेदन दिई वा नदिई सामाजिक सञ्जालमार्फत् आफ्ना उम्मेदवारीको प्रचार–प्रसार गरेको देखिएको भन्दै आचार संहिता जारी गरेको हो।
‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्ष तर्फका आकांक्षी उम्मेदवारहरूमध्ये केहीले उम्मेदवारका रूपमा औपचारिक आवेदन दिई वा नदिई सामाजिक सञ्जालमार्फत् आफ्ना उम्मेदवारीको प्रचार–प्रसार गरेको देखिन आएको छ। यस प्रकारको गतिविधिले नयाँ तथा बाँकी आकांक्षी सदस्यहरूलाई निरूत्साहित गर्ने अवस्था सिर्जना भएको हुँदा यस्ता सबै प्रचार–प्रसार कार्य तत्काल रोक्न तथा यसअघि सामाजिक सञ्जालमा राखिएका यस्ता सामग्री हटाउन निर्देशन गरिन्छ,’ रास्वपाले जारी गरेको छ।
रास्वपाले उम्मेदवारका लागि आवेदन दिने सदस्यले आफ्नो आकांक्षा जनाउन सादा फोटो सहित वा बिना फोटो सामाजिक सञ्जालमा एक पटक मात्र पोस्ट गर्न सक्ने व्यवस्था गरिएको बताएको छ।
‘प्राइमरी निर्वाचनमा सहभागी हुने हकमा, प्राइमरी निर्वाचन सम्बन्धी सूचना प्रकाशित भए पश्चात् मात्र पार्टीको निर्वाचन आचारसंहिता अनुरूप भद्र, मर्यादित र सीमित तरिकाबाट प्रचार–प्रसार गर्न सकिनेछ,’ सूचनामा उल्लेख छ।
पार्टीको निर्वाचन सम्बन्धी आचारसंहिता तथा यस उपसमितिबाट जारी निर्देशनहरूको पूर्ण पालना गर्न सबै सम्बन्धित सदस्यहरूमा अनुरोध गरिएको पनि सूचनामा भनिएको छ।