नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पुस २७ गतेका लागि आह्वान गरिएको विशेष महाधिवेशन फिर्ता गराउने संस्थापन पक्षको तयारी छ।
पार्टी कार्यालय सानेपामा भर्खरै सुरू कार्यसम्पादन समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बुधबार गरेको विशेष महाधिवेशन आह्वान फिर्ता गराउनेबारे छलफल हुने स्रोतले जानकारी दियो।
महामन्त्रीद्वयले संयुक्त वक्तव्य जारी गरेर विशेष महाधिवेशन आह्वान गरेपछि पहिलो पटक केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेको हो।
बिहीबार बिहान पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो निवासमा संस्थापन पक्षका नेताहरूसँग यसबारे छलफल गरेका थिए। उनले बिहानै शेखर कोइरालासहित इतर पक्षका दुई जना सहमहामन्त्री जीवन परियार र बद्री पाण्डेलाई पनि भेटेका थिए।
कोइरालाले विशेष महाधिवेशनलाई संकल्प महाधिवेशनमा रूपान्तरण गर्न सभापतिलाई आग्रह गरेका थिए।
सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित अधिकांश संस्थापन पक्षको असहमतिबीच ५४ प्रतिशत महाधिवेशन प्रतिनिधि र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन्।
सभापति देउवा, कार्यवाहक सभापति खड्का र अधिकांश संस्थापन पक्षले जिल्ला जिल्लामा रोक्न खोज्दाखोज्दै विशेष महाधिवेशन पक्षमा हस्ताक्षरदेखि उनीहरू विशेष महाधिवेशनमा सहभागी हुन काठमाडौं आउने क्रमसमेत अघि बढिसकेको छ।
कतिपय महाधिवेशन प्रतिनिधि काठमाडौं आइसकेका छन्। जिल्ला तथा विदेशस्थित जनसम्पर्क समितिमा रहेका प्रतिनिधिहरू पनि काठमाडौं आउने क्रम जारी रहेको नेताहरूले जनाएका छन्।
कांग्रेस पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्देशन अनुसार भनेर बुधबार नै निकालेको विज्ञप्तिमा 'पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन' अपिल गरिएको छ। विशेष महाधिवेशन केन्द्रीय समितिले बोलाउनुपर्ने कुरा मुख्यसचिवको विज्ञप्तिमा छ।