प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।
बिहीबार मध्याह्नदेखि अपराह्नसम्म भएको भेटवार्तामा निर्वाचन केन्द्रित कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए।
'उहाँहरूबीच निर्वाचन केन्द्रित कुराकानी भयो,' प्रधानमन्त्रीका प्रेस संयोजक रावलले सेतोपाटीसँग भने।
एमालेका एक नेताले पनि भेटको पुष्टि गर्दै ओलीले प्रधानमन्त्रीलाई एमाले निर्वाचनमा जान तयार रहेको बताएको जानकारी दिए।
'प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच निर्वाचनकै विषयमा कुराकानी भयो। सरकारले निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्षको जोड थियो,' ती नेताले भने।
उनका अनुसार भेटको आरम्भमा प्रधानमन्त्रीले एमालेले निर्वाचनको वातावरण बनाउन सहयोग गरेको भन्दै धन्यवाद दिएकी थिइन्। एमालेको यस्तै सहयोग आगामी प्रक्रियामा पनि रहने विश्वास पनि व्यक्त गरेकी थिइन्।
जबाफमा अध्यक्ष ओलीले एमाले ध्वंश, विनाश गर्ने पार्टी नभएको भन्दै निर्वाचन हुन नदिने, बाधा, व्यवधान पुर्याउने जस्ता गतिविधि कहिल्यै नगर्ने बताएका थिए। सरकारले चुनावको वातारण बनाउन अझै भूमिका खेल्नुपर्ने, शान्ति सुरक्षा, सुव्यवस्थामा अझ ध्यान दिनुपर्नेमा ओलीको जोड थियो।
प्रधानमन्त्री कार्की र ओलीबीच पहिलो पटक यसरी एक्लाएक्लै भेट भएको हो। यसअघि राष्ट्रपति भवन शीतल निवास र प्रधानमन्त्री निवासमै कार्की र ओलीबीच सामूहिक भेट र छलफल भएको थियो।