नेकपा एमालेले केन्द्रीय पदाधिकारी एवम् सदस्यहरूको निर्वाचनकेन्द्रित कार्य विभाजन गरेको छ।
महाधिवेशनपश्चात् पहिलो अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै एमालेले नेताहरूको कार्य विभाजन गरेको हो।
नयाँ कार्य विभाजनअनुसार एमालेले प्रदेश इन्चार्ज र जिल्ला इन्चार्जको जिम्मेवारी तोकेको छ। स्थायी कमिटी, पोलिट ब्युरोको गठन भने निर्वाचन सकिएपछि गरिने एमालेले बताएको छ।
‘पार्टीका पदाधिकारी र केन्द्रीय कमिटीका सम्पूर्ण सदस्यहरूलाई निर्वाचनको काममा केन्द्रित रहने गरी परिचालन गर्ने नीतिअनुरूप अस्थायी कार्यविभाजन गर्ने नीति अवलम्बन गरिएको छ। मुलुक निर्वाचनमा होमिएको अवस्थामा सिंगो पार्टीपंक्ति आन्दोलनकारी मनस्थितिका साथ निर्वाचनमा परिचालित हुनु आवश्यक हुन्छ। पार्टीका नेता र कार्यकर्ताले निर्वाचनमा खेलेको भूमिकाको मूल्यांकनका आधारमा अघि बढ्ने नीति अवलम्बन गरिने छ। मनोनयन, पोलिटब्युरो तथा स्थायी कमिटी गठन तथा समग्र कार्यविभाजन निर्वाचन सम्पन्न भएपछि गरिने निर्णय भएको छ। निर्वाचन सम्पन्न भएको १ महिनाभित्र सम्बन्धित तहका कमिटीले निर्वाचनको समीक्षा गरी त्यसको प्रतिवेदन केन्द्रीय कार्यालयमा पठाउनु पर्नेछ,’ एमालेले कार्य विभाजन गर्दै भनेको छ।