नेपाली कांग्रेस झापाका पुराना नेता सुधीरकुमार शिवाकोटी यसपटक राष्ट्रियसभाको टिकट कुरेर बसेका थिए।
नेताहरूले दिएको आश्वासनका आधारमा मात्रै होइन, पार्टी प्रदेश समितिको सिफारिसका आधारमा पनि टिकट आउने आशामा थिए उनी।
कांग्रेस कोशी प्रदेश समितिले यसपटकको राष्ट्रियसभा निर्वाचनका लागि सम्भावित उम्मेदवारहरूको लामो सूची केन्द्रमा पठाएको थियो।
एक जना दलित, एक जना महिला र एक जना अन्य क्लस्टरका लागि कोशीले १३० भन्दा बढी आकांक्षीहरूको नाम केन्द्रमा पठाएको थियो।
जसमा सबैभन्दा धेरै ‘अन्य’ क्लस्टरका दाबेदार थिए।
कांग्रेस कोशी प्रदेशका एक पदाधिकारीका अनुसार प्रदेश समितिले गरेको सिफारिस सूचीको एक नम्बरमा थिए झापाका नेता शिवाकोटी।
तर, टिकट उनले पाएनन्, धनकुटाका सुनिलबहादुर थापाले पाए।
प्रदेश समितिले झापाका पुराना नेता शिवाकोटीको नाम एक नम्बरमा राखेर सिफारिस गर्नु अघि नै धनकुटाका थापालाई कांग्रेस केन्द्रले उम्मेदवार बनाउने तयारी गरिसकेको थियो।
राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकार पदबाट राजीनामा दिन लगाएर पार्टी संस्थापनले थापालाई राष्ट्रिय सभामा पठाउने तयारी थालिसकेको थियो।
राष्ट्रिय सभाका लागि बुधबार उम्मेदवारी दर्ता हुँदै थियो। त्यसअघि नै अर्को ठूलो दल एमाले र जसपासँग मिलेर चुनाव लड्ने सहमति भएपछि कांग्रेसबाट टिकट पाउने कोशीका उम्मेदवारले चुनाव जित्ने निश्चित जस्तै थियो।
चुनाव जित्ने निश्चित अवस्थामा कांग्रेस केन्द्रबाट उम्मेदवार तोकिएर आएका थापाले चुनाव लड्नै नपर्ने भयो।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार हेमराज घिमिरे समयमा आइपुग्न नसक्दा कोशीको अन्य क्लस्टरमा कांग्रेसका थापाको एकल उम्मेदवारी परेको छ। चुनाव नहुँदै उनको माथिल्लो सदनको यात्रा तय हुने निश्चित भइसकेको छ।
राष्ट्रियसभा पुग्ने निश्चित भएर थापा खुसी भइरहेको यही समयमा झापाका नेता शिवाकोटीले भने सार्वजनिक रूपमै दुःख प्रकट गरेका छन्।
दुई पटक झापाको सभापति भइसकेका र संविधानसभा सदस्य रहिसकेका शिवाकोटीले ‘विदेशी दबाबमा नेताहरूले थापालाई टिकट दिएको’ गम्भीर आरोप पनि सार्वजनिक रूपमै लगाएका छन्।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा तुर्सा हेमरम, सीके प्रसाइँ र बिपी कोइरालाको तस्बिर राखेर लामो स्ट्याटस लेख्दै शिवाकोटीले यस्तो गुनासो गरेका हुन्।
‘आदरणीय महान नेताहरू तुर्सा हेमरम, सीके प्रसाई (भरतबाबु) जननायक बिपी कोइरालाका तस्बिर हेर्दा यिनीहरूले गरेको दुःख, कष्ट, त्याग तपस्या सबै खेर गयो भन्ने लाग्छ,’ शिवाकोटीले लेखेका छन्, ‘यसपटक राष्ट्रिय सभाको निर्वाचनमा मेरो नाम पनि एक नम्बरमा थियो। पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल थापालाई राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा गर्न लगाएर कोसी प्रदेशको क्षेत्र नम्बर १ मा उम्मेदवार बनाएर सिफारिस गरियो।’
उनी निर्विरोध भएपछि उनलाई किन टिकट भनेर आफूले सोधेको उल्लेख गर्दै शिवाकोटीले लेखेका छन् ‘किन भनेर मैले जिज्ञासा राख्दा प्रदेश सभापति उद्धव थापाले मैले सकिन दाइ भन्नुभयो।’
विदेशी दबाबका कारण थापाले टिकट पाएको उनको आरोप छ।
‘पछि बुझ्दा त विदेशीको दबाबबाट त्यस्तो गर्नुपरेछ,’ उनले लेखेका छन्, ‘आज नेपालमा नेताहरू र पार्टीहरू विदेशीबाट संचालित भए भनिन्छ। कोही उत्तरबाट, कोही दक्षिणबाट, अमेरिकाबाट र कोही युरोपियन युनियनबाट संचालित छन् भन्ने ब्यापक छ। नेपाल र नेपालीहरूबाट चाहि सञ्चालित हुने को छ त? यो गणतन्त्र, यो संसद र यो सरकार सबै देखाउने दाँत मात्र हुन् त? के हामी नेपाली र हाम्रो नेपाल स्वतन्त्र छैन? यो प्रश्नको उत्तर हामी सबैले खोज्नुपर्छ।’
कांग्रेस नेता कृष्णप्रसाद सिटौला झापाको सभापति हुँदा शिवाकोटी सचिव बनेका थिए। त्यसपछि उनी कार्यवाहक हुँदै दुई कार्यकाल जिल्ला सभापति समेत बने।
आफूले टिकट नपाएर उक्त आरोप लगाउनुभएको हो कि सुराक पाएरै हो भन्ने प्रश्नमा शिवाकोटीले भने, ‘मैले केन्द्रका धेरै साथीहरूको कुरा सुनेपछि यसो भनेको हुँ। केही नबुझी यस्तो आरोप लगाउन मेरो परिपक्वताले दिँदैन।’
सिटौलाले पनि तपाईंको पक्षमा बोल्नुभएन नि भनेर प्रश्न गर्दा उनले सिटौलाले मात्रै नभइ कसैले पनि नबोलेको बताए।
२०५६ देखि २०६४ सम्म गरी दुई कार्यकाल पार्टीको सभापति भएका शिवाकोटी २०७० को संविधानसभा निर्वाचनमा झापा २ बाट निर्वाचित भएका थिए।
२०४६ को र २०६२–६३ को दुवै जनआन्दोलनमा झापाका आन्दोलनको अगुवाइ गरेका उनी २०६२–६३ मा सेनाको हिरासतमा रहेर चरम यातना खपेका नेता पनि हुन्।
उनलाई नेताहरूले वचन दिएर अन्तिममा निराश पारेको भन्दै कोशी प्रदेश समितिका एक पदाधिकारीले पनि रोष प्रकट गरेका छन्।
‘उहाँले सुरूमा आफैं टिकट माग्नुभएको थिएन, जिल्ला र प्रदेशका नेताहरूको अनुरोधमा उहाँको नाम पठाएपछि उहाँ सहमत हुनुभएको थियो,’ ती पदाधिकारीले भने, ‘तर, अन्तिममा थापाको टिकट आयो।’
यसअघि नै महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाले मनपरी रूपमा राष्ट्रियसभाको टिकट बाँडेको बताएका थिए।
केन्द्रले मनपरी गरेको भन्दै प्रदेशका नेताहरू पनि असन्तुष्ट छन्।
‘पञ्चायतमा सूर्यबहादुरहरूका लागि अवसरै अवसर थियो, बहुदलकालमा कांग्रेस एमालेले फेरि सूर्यबहादुरहरूलाई अवसर दिए,’ प्रदेश समितिका ती पदाधिकारी भन्छन्, ‘गणतन्त्रकालमा पनि उहाँहरूकै परिवारलाई अवसरै अवसर छ। यस्तै छ चलन।’
कांग्रेस झापा क्षेत्र नम्बर १ का कांग्रेस क्षेत्रीय समितिमा रहेका युवा नेता रूपसागर अधिकारीले कांग्रेस नेतृत्वले पाइलैपिच्छे मनपरी गरिरहेको भन्दै आक्रोश पोखेका छन्।
‘राष्ट्रियसभा विज्ञ र अनुभवीहरूको थलो हो, सुधिर शिवाकोटी त्यसका लागि उपयुक्त उम्मेदवार हुनुहुन्थ्यो,’ उनले भने, ‘तर, सभापति देउवा दाहिना हुँदा कांग्रेसले होइन, पञ्चायतको लिगेसी बोकेका नेताले अवसर पाए। हाम्रो पार्टीको न्याय प्रणाली यसरी विकृत बनेको छ।’
राष्ट्रिय सभा पुग्ने निश्चित भइसकेका थापा पूर्व प्रधानमन्त्री सूर्यबहादुरका छोरा हुन्। उनी २०७७ मा कांग्रेस प्रवेश गरेका थिए।
त्यसबेला सभापति देउवाले उनलाई सहमहामन्त्री बनाएका थिए।
२०७४ जेठमा शेरबहादुर देउवाको मन्त्रीमण्डलमा थापा वाणिज्य तथा आपूर्ति मन्त्री पनि बनेका थिए। उनी अहिले कांग्रेस केन्द्रीय सदस्य पनि छन्।