नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिले पार्टीमा विशेष महाधिवेशनको आवश्यकता नरहेको बताएका छन्।
सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्यहरूले नयाँ बानेश्वरमा राखेको केन्द्रीय सदस्य भेलामा सहभागी भएपछि पत्रकारहरूसँग कुराकानी गर्दै सिटौलाले पार्टीको निर्णय कार्यान्वयन गर्नु सबैको जिम्मेवारी रहेको बताए।
पार्टी निर्णय कार्यान्वयन भएका खण्डमा एकता रहने पनि उनले बताए।
‘पार्टी केन्द्रीय कार्य सम्पादन समितिले गरेको निर्णय कार्यान्वयन गर्नु नै पार्टीको एकता हो। यतिबेला पार्टीमा परस्परमा नेता, साथीहरूको बीचमा प्रतिष्पर्धा गर्ने बेलै होइन। निर्वाचनमा पार्टी एकतावद्ध भएर जाने बेला हो यो। आजसम्म जुन परिस्थिति देखिएको छ, त्यो राम्रो मानिँदैन,’ उनले पत्रकारहरूसँग भने।
साथै सिटौलाले केन्द्रीय कार्यसमितिले गरेको निर्णय कार्यन्वयनमा आफूहरू लागेको बताए।
‘अब राजनीति हो परिणाम जे आउँछ त्यसलाई लिएर अघि जानुपर्छ। विशेष महाधिवेशन आजको आवश्यकता होइन। आजको आवश्यकता निर्वाचनमा पार्टीभित्र देखाउनुपर्ने पूर्ण समझदारी हो। निर्वाचनको तयारीमा सबै जुट्नुपर्ने बेला हो। यस्तो बेलामा पार्टीमा खैलाबैला भएको छ, त्यो उचित छैन। पार्टीको निर्णय मान्नु सबैको मूल कर्तव्य हो,’ उनले भने।