नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशनलाई 'काउन्टर' दिन विभिन्न भेला राखेपछि यसलाई लिएर देउवा समूहभित्रै असन्तुष्टि देखा परेको छ।
विशेष महाधिवेशन पक्षधरसँग पनि कुराकानी गरेर पार्टीलाई एकढिक्का बनाएर निर्वाचनकेन्द्रित गर्नुपर्ने बेला विशेष महाधिवेशन हुने मितिलाई नै लक्ष्य गरी समानान्तर खालका भेला बोलाएको भन्दै संस्थापन समूहभित्रै केही नेताहरूले असन्तुष्टि राखेका हुन्।
यो कुरा उनीहरूले हिजो केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठक र त्यसअघि सभापति शेरबहादुर देउवा निवासमा भएको अनौपचारिक छलफलमासमेत उठाएका थिए।
‘हाम्रो तर्फबाट पनि केन्द्रीय सदस्य भेला, जिल्ला सभापति भेला, युवा भेला भनेर हामीलाई काठमाडौं बोलाएका छन्, आउने हो कि नआउने हो भनेर हामीलाई जिल्लाबाट सोधिरहेका छन्,’ एक पदाधिकारीको भनाइ छ, ‘यस्तो बेला भेला राख्नु हुँदैनथ्यो, जिल्ला जिल्लाबाट भेलाका नाममा मानिस आउँछन्, केहीबेर भेलामा बस्छन् र विशेष महाधिवेशन हेर्न जान्छन् नि!’
विशेष महाधिवेशन पनि पार्टीले नै आयोजना गरेको र पार्टीका केही पदाधिकारीहरूसमेत त्यसमा उपस्थित हुने हुँदा काउन्टर भेलामा आउने नेताकार्यकर्ता पनि भृकुटीमण्डपको विशेष महाधिवेशनमा जान सक्ने भएर काउन्टर भेला नराख्न केही पदाधिकारीले आग्रह गरेका थिए।
नेपाल तरूण दलले नेता शेखर कोइरालानिकट तरूण दलका युवासमेतलाई समेटेर केन्द्रीय कार्यालयमा पुस २७ गते भेला गर्न लागेको छ। त्यसको तयारीका लागि हिजो केन्द्रीय कार्यालयमा बैठक पनि बसेको थियो, जसमा कोइरालानिकट तरूण दल केन्द्रीय सदस्यहरू पनि उपस्थित रहेका थिए।
देउवा पक्षका केन्द्रीय सदस्यहरूले आज नयाँ बानेश्वर र कुपन्डोलमा बेग्लाबेग्लै भेला गरेका थिए। ३० केन्द्रीय सदस्यले विशेष महाधिवेशन पक्षधरको मतलाई सम्मान गर्न अपिल जारी गरेका छन् भने नयाँ बानेश्वरको भेलामा उपस्थित भएकाहरूले केन्द्रीय कार्यसम्पादन समितिको निर्णय मानेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने निष्कर्ष निकालेका छन्।