पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फ उम्मेदवार सूचीलाई लिएर विवाद भएपछि राप्रपा पदाधिकारी बैठक बसेको छ।
केन्द्रीय कार्यालय धुम्बाराहीमा पदाधिकारी बैठक बसेको हो।
बैठकमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संस्थागत र सर्वसम्मत निर्णय गरेको विषयमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रचार भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण भएको प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
‘विषम परिस्थितिमा पनि पार्टीको लोकप्रियता बढ्दै गएको, देशले बलियो राष्ट्रवादी शक्तिको खोजी गरिरहेको, सम्पूर्ण राष्ट्रवादी शक्ति एकीकृत बन्दै गएको र निर्वाचन नजिकिदै गरेको समयमा पार्टीप्रति भ्रम फैलाउने, जथाभावी अभिव्यक्ति दिने, अनेकन टिकाटिप्पणी गर्ने, कार्यकर्ता विभाजित तुल्याउने कार्यहरु पार्टीको वृहत्तर हित विपरीत र अवाञ्छित हुने हुँदा यस्ता कार्यमा संलग्न नहुन राप्रपा समग्र पार्टी पंक्तिलाई हार्दिक आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
पार्टीले संस्थागत रुपमा गरेको निर्णयको स्वामित्व हरेक तहले लिनु पार्टी सदस्यको कर्तव्य, धर्म र जिम्मेवारी रहेको विज्ञप्तिमा उल्लेख छ।
राप्रपा समानुपातिक सूचीमा पार्टी वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङकी श्रीमती सरस्वती लामा र नेता खुस्बु ओली लगायतको नाम रहेको भन्दै विरोध भइरहेको छ।