रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङलाई एक ठाउँमा ल्याउन भूमिका खेलेका सुदन गुरूङले फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका छन्। तर उनले कुन पार्टी र चुनाव चिह्नमा उम्मेदवार हुन लागेका हुन् भन्ने खुलाएका छैनन्।
जबकी सुदन निकट साथीहरू ओजस्वी थापा र जेम्स कार्की राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य नै बनेका छन्। तर सुदनले राष्ट्रिय स्वतन्त्र पार्टीसँग समदूरी राखेका छन्।
हामी नेपाल अभियानका संस्थापक गुरूङ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट उदाएका प्रमुख अनुहार मध्येका एक हुन्। गुरूङ रास्वपामा नलागी छुट्टै सिभिलियन फोर्स घोषणा गरेर सक्रिय भइरहेका छन्।
सेतोपाटीले तपाईं किन ‘राष्ट्रिय स्वतन्त्र पार्टीसँग नजोडिएको’ भनेर गुरूङलाई प्रश्न गरेको थियो।
तर गुरूङले स्पष्ट जबाफ दिएनन्।
‘रास्वपा नजाने कुरा होइन। तर सिभिलियन फोर्स पनि छ,’ गुरूङले भने, ‘हामी सरकारको वाचडगका रूपमा काम गर्छौं। तर अब सदनमा गएर नागरिकको आवाज उठाउने हो। परिवर्तनका लागि लडेको मान्छे हुँ। संसदमा स्थायी रूपमा गएर कुरा राख्छु।’
उनले कुन पार्टीमा जाने भन्ने विषयमा आफूले निर्णय नगरेको बताए। जबकी उनले बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीका उम्मेदवार भएका बालेन शाहसँग भेटवार्ता गरेका थिए।
‘तपाईंलाई बालेनजीले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्न आग्रह गर्नुभएन,’ भन्ने सेतोपाटीको प्रश्नमा उनले ‘त्यस विषयमा कुराकानी नभएको’ बताए।
‘मैले बालेनजीसँग जेनजीको मागबारे कुरा गरेँ,’ सुदनले भने, ‘निर्वाचन लड्ने विषयमा होइन। रास्वपाले जेनजीको मागलाई कसरी ‘इन्डोर्स’ गर्छ भनेर सोधेको हो। जेनजीसँगको सम्झौतामा राष्ट्रपतिले हस्ताक्षर गर्ने विषयमा कुराकानी भयो।’
उनले आफूसँग निकट भएका साथीहरूलाई राजनीतिक दलमा आबद्ध हुने विषयमा कुनै रोकतोक नगरेको बताए।
‘जान्छु, भन्नेलाई ‘जाऊ’ भनेको हुँ’, गुरूङले भने।
राष्ट्रिय स्वतन्त्र पार्टीमा गुरूङले पदाधिकारीमा दाबी गरेको र नपाएका कारण पार्टीमा समाहित नभएको भन्ने चर्चाबारे पनि गुरूङले जबाफ दिए।
‘पदाधिकारी नपाएर नगएको होइन। पार्टीबाट लडेर पनि हुने त मन्त्री नै होला। म मन्त्री पद फालेको मान्छे हुँ,’ सुदनले भने, ‘मन्त्री पद त्यागेको मान्छे हुँ। रास्वपाको पदका लागि लोभिने मान्छे होइन।’
गुरूङले पदलाई जिम्मेवारीका रूमपा लिनुपर्ने बताए।
‘पद होइन जिम्मेवारी हो भनेर बुझेपछि मात्र जाने कि नजाने निर्णय गर्नुपर्छ,’ उनले भने, ‘गृहमन्त्री भएपछि कस्तो जिम्मेवारी हुन्छ। कस्तो निकाय र विभागमा काम गर्नुपर्छ। कति मिटिङ गर्नुपर्छ भन्ने थाहा भए मान्छेहरू मन्त्री नै बन्दैनन्।’
उनले साथीभाइले चुनाव लड्न दबाब दिएका कारण सामाजिक सञ्जालबाट उम्मेदवार बन्ने घोषणा गरेको बताए।
‘डिसाइड नै गरेको थिइनँ। साथीहरूले के गर्ने, कसो गर्ने भनेर सोधिराखेका थिए,’ गुरूङले भने, ‘साथीभाइबाट प्रेसर आएपछि हैरान भएँ। जिम्मेवारी उठाउनुपर्छ भन्ने लाग्यो। हामी जस्तो फिल्डमा उत्रिएको मान्छेले सदनमा आवाज उठाउनुपर्छ भन्ने लाग्यो।’
उनले आफू अहिले देशको जिम्मेवारीको लागि तयार भएको बताए।
‘पार्टीको जिम्मेवारी र देशको जिम्मेवारी फरक हुन्छ,’ गुरूङले भने, ‘देशको जिम्मेवारीमा काम गर्न ओपन हुन्छ।’