सामाजिक अभियानी आशिका तामाङले काठमाडौंबाट स्वतन्त्र उम्मेदवारी दिने भएकी छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले काठमाडौंबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी हुन्।
उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी हुन्।
उनका अनुसार पछिल्ला हप्ताहरूमा सरोकारवाला पक्षसँग प्रत्यक्ष संवाद, सामाजिक सञ्जालमार्फत मत सर्वेक्षण तथा विशेषगरी जेनजी पुस्तासँग खुला छलफल गरी उनीहरूको अपेक्षा, चिन्ता, मुद्दा र चाहनाबारे गहिरो विमर्श गरिएको थियो।
ती छलफलबाट सकारात्मक सुझावका साथै आलोचनात्मक तथा नकारात्मक प्रतिक्रियासमेत प्राप्त भएको र ती सबैलाई समान सम्मानसाथ ग्रहण गरिएको उनले बताइन्।
जनभावना र अनुभवलाई मनन गर्दै दलगत सीमाभन्दा माथि उठेर स्वतन्त्र धारमा अघि बढ्नु वर्तमान सन्दर्भमा जिम्मेवार निर्णय ठानेको उनको भनाइ छ।
'जेनजीले उठाइरहेका आवाज, परिवर्तनको चाहना र मुद्दा अब सडकमा मात्र होइन, संसदभित्र पनि सशक्त रूपमा प्रतिनिधित्व हुनुपर्छ,' उनले भनिन्।