नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलानिकट नेताहरु पनि धमाधम विशेष महाधिवेशनको पक्षमा उभिन थालेका छन्।
यही क्रममा सिटौलाकै गृहजिल्ला झापाका नेता सुधीर शिवाकोटी विशेष महाधिवेशनका पक्षमा उभिएका छन्।
झापाका ७० प्रतिशत हाराहारी विशेष महाधिवेशनमा सहभागी बन्ने निश्चित भइसकेको विशेष महाधिवेशन पक्षधरहरुको भनाइ छ।
सिटौला झापाको जिल्ला सभापति हुँदा सचिव रहेका र दुई कार्यकाल झापा कांग्रेसको सभापति बनेका नेता शिवाकोटीले विशेष महाधिवेशनमा सहभागी बन्न आह्वान गरेका छन्।
पार्टी सुकिलामुकिलाहरुको कब्जामा परेको र त्यसलाई विपीकै आदेश बमोजिम उनीहरुको कब्जाबाट मुक्त तुल्याउने बेला आएको शिवाकोटीले बताएका छन्।
‘नेपाली कांग्रेसलाई परिवर्तन गर्ने विपीकै आदेश बमोजिम पार्टीमा पछि फेरि सुकिला-मुकिला बदनाम ब्यक्तिहरुले कब्जा गर्नेछन्। कार्यकर्ता साथीहरुले फेरि पार्टीको शुद्धिकरण गर्न पार्टीमा एक पटक आन्दोलन गर्न पर्नेछ भन्ने हामीलाई निर्देशन बमोजिम पार्टीकै शुद्धता र सुदृढीकरण गर्न विशेष महाधिवेशनलाई सफल पार्नुपर्ने समय आएको छ,’ उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘सक्ने साथीहरु काठमाडौ जाउँ वा जिल्लामा बसेरै सक्रिय समर्थन गरौं।’
सिटौलाका विश्वासपात्र भनेर चिनिने शिवाकोटी २०५६ देखि २०६४ सम्म गरी दुई कार्यकाल पार्टीको झापा सभापति भएका थिए।
शिवाकोटी २०७० को संविधानसभा निर्वाचनमा झापा २ बाट निर्वाचित भएका थिए।
२०४६ को र २०६२–६३ को दुवै जनआन्दोलनमा झापाका आन्दोलनको अगुवाइ गरेका उनी २०६२–६३ मा सेनाको हिरासतमा रहेर चरम यातना खपेका नेता पनि हुन्।
उनलाई यसपटक राष्ट्रिय सभामा उठ्न भनेर नेताहरुले जोड गरेका थिए। सुरुमा टिकट दिने वचन दिए पनि अन्तिममा सुनिल थापालाई अघि सारिएपछि उनले असन्तोष प्रकट गरेका थिए।