नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले शनिबार बत्तिसपुतलीमा पत्रकार सम्मेलन आयोजना गरे।
आइतबारदेखि विशेष महाधिवशेन सुरू हुन लाग्दा त्यसबारेमा धारणा सार्वजनिक गर्न भनेर भण्डारीले अर्का नेता डा.सुनिल शर्मालाई पनि सँगै राखेर पत्रकार सम्मेलन गरे।
दुवै नेता केही दिनयता विशेष महाधिवेशन आह्वानलाई स्वभाविक भन्दै यसले पार्टीलाई मजबुत बनाउने बताउँदै आएका छन्।
शुक्रबार भृकुटीमण्डप नै पुगेर उनीहरूले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको कदमको प्रशंसा गरे।
शनिबारको पत्रकार सम्मेलनमा उनले पार्टीलाई कुनै पनि हालतमा विभाजन हुन नदिने प्रतिबद्धता व्यक्त गरे।
विशेष महाधिवेशनबाट पनि संकल्पप्रस्ताव मात्रै पारित गरेर जानुपर्ने उनको आग्रह थियो। साथै संस्थापन पक्षले पनि यसको अपनत्व लिनुपर्ने भण्डारीले बताए।
संक्षिप्त धारणा राखेका भण्डारीले आफू विशेष महाधिवेशनको पक्षमा हो कि विपक्षमा हो भन्ने चाहिँ खोलेनन्। त्यसपछि उपस्थित पत्रकारहरूले उनलाई लगातार सोधे-
पत्रकारः तपाईं विशेष महाधिवेशनको पक्षमा कि विपक्षमा?
चन्द्र भण्डारीः यो कुरै खुल्दैन। नखुल्ने कुरा प्रश्न गरेपछि खुल्दैन। दुइटा धार भए पछि पार्टीलाई अफ्ठ्यारो पर्छ नी। दुइटै धारलाई एकै ठाउँ राख्ने पक्षको हो हामी। हाम्रो कित्ता पार्टी नफुटाउने, नबिगार्ने र इतिहासले दिएको मुलुकको नेतृत्व गर्ने हो।
पत्रकारः विशेष महाधिवेशनमा तपाईंहरू जानुहुन्छ कि जानुहुन्न?
चन्द्र भण्डारीः एकताबद्ध गर्नका निम्ति जान पनि तयार छौं। तिमीहरू हट्दा पार्टी बन्छ भनियो भने हट्न पनि तयार छौं।
पत्रकारः यो त दुइतर्फ नै भयो
चन्द्र भण्डारीः कसरी भयो?
पत्रकारः तपाईंको समर्थन हो कि होइन? समर्थन हुन्छ कि हुँदैन?
चन्द्र भण्डारीः कति जानेको हो? हामीले उत्तर दिन जानेका छैनौं? जेनजी मुभमेन्टपछि यो महाधिवेशन आह्वान हुन पर्थ्यो। उत्साहित बनाउनका लागि बोलाइन पर्थ्यो। त्यसो नभएपछि विशेष महाधिवेशन राखियो। ५४ प्रतिशत प्रतिनिधिहरुको भेरिफाइ नभए पनि केन्द्रीय समितिले यसलाई ग्रहण गर्नुपर्थ्यो। ग्रहण नगर्नुमा कमजोरी देखियो।
पत्रकारः भनेपछि विशेष महाधिवेशनमा समर्थन छ भन्ने बुझ्न पर्यो
चन्द्र भण्डारीः मिलाउनेमा समर्थन छ नी।