नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ विशेष महाधिवेशन पक्षमा खुलेका छन्।
लामो समयदेखि सभापति शेरबहादुर देउवालाई साथ दिँदै आएका श्रेष्ठ उक्त समूह छाडेर विशेष महाधिवेशन पक्षमा खुलेका हुन्।
सेतोपाटीसँग कुराकानी गर्दै नेता श्रेष्ठले आफू विशेष महाधिवेशनमा सहभागी हुने बताए।
उनी महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग कुराकानी गरेपछि विशेष महाधिवेशन पक्षमा खुलेका हुन्।
‘आज मैले दुवै महामन्त्रीहरूसँग कुराकानी गरेँ। गगनजीसँग मेरै निवासमा आधा घन्टाजति कुराकानी पनि भयो, यस्तो कुरा पहिले पनि भइरहेको थियो,’ श्रेष्ठले भने।
सभापति शेरबहादुर देउवाले सक्रिय राजनीति छाडेको आफूहरूले बुझे पनि त्यस्तो नदेखिएको पनि उनले बताए।
‘शेरबहादुरजीले सक्रिय राजनीति छाड्नुभयो, उपसभापतिजीलाई कार्यवाहक दिनुभयो, अब पार्टीमा शेरबहादुरजीको हस्तक्षेप हुँदैन भन्ने हामीलाई लागेको थियो,’ उनले भने, ‘तर शेरबहादुरजी सिंगापुर गएर बलियो भएर आउनुभयो। सबैलाई पन्छाएर सबै अधिकार आफ्नो मुठ्ठीभित्र राख्नुभयो। आफूलाई जे लाग्यो त्यही गर्न थाल्नुभयो। यसरी अब त भएन। चुप लागेर बस्न भएन भन्ने मलाई लाग्यो।’
आफूले १० औं महाधिवेशनदेखि सभापति देउवालाई साथ दिँदै आएको उनले बताए। ‘पोखराको १० औं महाधिवेशनदेखि हो शेरबहादुरजीलाई साथ दिएको, उहाँले धेरै कुरा गर्नुभयो तर केही पूरा गर्नुभएन,’ उनले भने, ‘मैले धेरै गल्ती गरेछु, उहाँ क्रुर हुनुहुँदो रहेछ, मलाई आत्मग्लानी भयो। कार्यवाहक देखाउने दाँत मात्रै भयो। पूर्णबहादुर खड्काजीलाई कुनै अधिकार दिएनन्।’
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले माग गरेअनुसार विशेष महाधिवेशन हुनुपर्ने उनले बताए। ‘म सहभागी हुने मात्र होइन, मेरा कुरा सुन्ने सबैलाई विशेष महाधिवेशनमा आउन भनेको छु,’ उनले भने, ‘मैले महामन्त्री गगन र विश्वजीलाई साथ दिने निर्णय गरेँ। भविष्यका नेता यिनै हुन्।’