नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू पूर्वी रूकुमबाट चुनाव लड्ने करिब निश्चित भएको बताएका छन्।
पश्चिम रूकुममा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले आफू रूकुमबाट चुनाव लड्ने निश्चितजस्तै भएको घोषणा गरेका हुन्।
'हुनसक्छ म अहिलेको चुनाव म रूकुमैबाट लड्छु। त्यो यही रूकुम भन्ने नठान्नुहोला। पूर्वी रूकुम आउने करिब निश्चित भएको छ,' उनले भने, 'म पूर्वी रूकुम आउने भनेको पश्चिम रूकुम पनि आउने नै हो।'
रूकुम पश्चिममा गोपाल शर्मालाई जिताउन पनि प्रचण्डले आग्रह गरे।
रूकुम पश्चिम जनार्दन शर्माको गृहजिल्ला हो। जनार्दनले नेकपा एकताबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका छन्।
प्रचण्ड रूकुम पूर्वसहित १० ठाउँबाट उम्मेदवार सिफारिस भएका छन्।
उनी कालिकोट, कास्की–३, नुवाकोट–१, सिन्धुली–२, रामेछाप, महोत्तरी–४, गोरखा–१, रोल्पा, कैलाली–३ बाट उम्मेदवार सिफारिस भएका छन्। कतै एकल र कतै उनीसहितको नाम केन्द्रमा सिफारिस भएर आएको छ।
संयोजक प्रचण्डले चुनावैपिच्छे निर्वाचन क्षेत्र फेरेर उम्मेदवार बन्ने छवि बनाएका छन्।
२०६४को पहिलो संविधान सभा निर्वाचनमा काठमाडौं–१० र रोल्पाबाट उम्मेदवार बनेका थिए। दुवै ठाउँबाट चुनाव जितेका थिए।
२०७० को दोस्रो संविधान सभा निर्वाचनमा काठमाडौं–१० र सिराहाबाट उम्मेदवार बनेका थिए। त्यतिबेला उनी सिराहाबाट मात्रै निर्वाचित भएका थिए।
२०७४ को निर्वाचनमा उनी चितवन–३ बाट उम्मेदवार भई निर्वाचित भएका थिए भने २०७९ सालको निर्वाचनमा गोरखा–२ बाट उम्मेदवार बनी विजयी भएका थिए।