नेपाल कम्युनिस्ट पार्टी एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक सकिएको छ।
शनिबार बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनले ३३ प्रतिशत नयाँ अनुहारलाई नेतृत्वमा ल्याएको बताएका छन्।
अध्यक्ष ओलीका अनुसार महाधिवेशनले केन्द्रीय नेतृत्वमा ३३ प्रतिशत नयाँ अनुहार ल्याएको छ भने करिब ३४ प्रतिशत केन्द्रीय सदस्य ५० वर्षभन्दा कम उमेरका रहेका छन्।
‘बैठकमा एकपटक सबै सदस्यको अनुहारमा गहिरिएर हेरेँ- महाधिवेशनले ३३ प्रतिशत नयाँ अनुहारलाई नेतृत्वमा ल्याएको छ, अनि करिब ३४ प्रतिशत नेताहरू ५० वर्ष भन्दा कम उमेरका हुनुहुन्छ,’ उनले भने।
यसले पार्टी नेतृत्वमा पुस्तान्तरण र समावेशिताको स्पष्ट सन्देश दिएको उनको भनाइ छ।
‘युवाको सबल प्रतिनिधित्व स्थापित गर्न हामी सफल भएका छौं र सबै उमेर समूहको सन्तुलित नेतृत्व महाधिवेशनले निर्वाचित गरेको छ,’ उनले भने।
एमालेले संगठनभित्र पुस्तान्तरणलाई संस्थागत गर्ने दिशामा महाधिवेशनमार्फत महत्वपूर्ण कदम चालेको भन्दै अध्यक्ष ओलीले निर्वाचित केन्द्रीय सदस्यहरूलाई जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरेका छन्।