नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विध्वंश र 'पपुलिजम' अग्रगामी विकल्प नहुने बताएका छन्।
शनिबारको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले त्यस्ता शक्तिहरु लोकतान्त्रिक शक्तिको पुनरागमन हुने देखिएपछि एकजुट भएको पनि बताएका हुन्।
'कुनै दिन कुनै ‘अवतारी’ नायकको जन्म हुन्छ र तिनीहरुले हेर्दा हेर्दै समस्याहरुको जादुमयी समाधान गरिदिन्छन् भन्ने भ्रम तुवाँलो फैलाइँदैछ। तर न त विध्वंश आन्दोलन हो, न ‘पपुलिज्म‘ नै अग्रगामी विकल्प,' उनले भने।
अध्यक्ष ओलीले पुराना दल र नयाँ दल बीचको ध्रुविकरणको रुपमा बहस गरिए पनि वास्तविक ध्रुविकरण कुनै राजनीतिक विचारधारा वा दर्शनमा नभई भदौ २४ को विध्वंशलाई वैधता दिने कि नदिने भन्नेहरुको बीचमा भएको दाबी गरे।
लोकतन्त्र राजनीतिक दलहरुको भूमिकाबाट मात्रै बलियो हुने उनले बताए।
उनले हाल विचारविहीन, सार्वजनिक जवाफदेहिताविहीन र सामाजिक नैतिकताका दृष्टिले विवादास्पद व्यक्तिहरु संगठित भएर लोकतान्त्रिक प्रणाली, विचार र संस्थामाथि चुनौती दिइरहेको आरोप लगाए।
सत्तामा जान जस्तोसुकै भावना पनि बेच्ने र जस्तो सुकै सम्झौता गर्ने पपुलिष्ट पात्रहरुले हाम्रो जस्तो देशमा भयावह भूराजनीतिक जोखिम पनि निम्त्याउन सक्छन्,' उनले भने।