राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कुलमान घिसिङ समूह अलग भएको छ।
कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टीले रास्वपाबाट अलग हुने घोषणा गरेर उनलाई नै अध्यक्ष बनाइसकेको छ।
रास्वपा र उज्यालो नेपाल पार्टीबीच पुस १४ गते सहमतिपत्रमा हस्ताक्षर हुँदै गरिएको एकता १२ दिन पनि टिकेन।
दुइटा नयाँ दलबीचको एकता छोटो समयमै टुटेपछि दुवै पक्ष एकअर्काप्रति दोषारोपण गरिरहेका छन्।
रास्वपाका नेताहरू कुलमानले वरिष्ठ उपसभापतिसहित कम्तीमा पाँच पदाधिकारी, सातभन्दा बढी सचिवालय र प्रत्यक्षमा जित्ने सिट र राजकीय पदसमेत भागबन्डा गरेर जानुपर्ने माग गरेको आरोप लगाइरहेका छन्।
रास्वपासँगको एकता तोडेपछि पत्रकार सम्मेलनमा प्रस्तुत भएका कुलमानले भने रास्वपाले लगाएका आरोपहरूको खण्डन मात्रै गरेनन्, रास्वपाले अफवाह फैलाएको आरोप समेत लगाए।
पत्रकार सम्मेलनमा कुलमानले 'संविधानका आधारभूत विषयमा पूरक सम्झौता गरौं' भन्ने प्रस्ताव रास्वपाले अस्वीकार गरेपछि एकता टुटेको बताएका छन्।
उज्यालो नेपालले रास्वपासँग संविधानका आधारभूत विषयमा गर्न खोजेको पूरक सम्झौता के थियो— कुलमानले पत्रकार सम्मेलनमा धेरै खुलाएनन्।
त्यो पूरक सम्झौता के थियो भन्नेबारे कुलमानको दलका 'थिंक ट्यांक' मानिने प्रा.डा. महेन्द्र लावतीलाई सेतोपाटीले सोधेको छ।
डा. लावतीले त्यो पूरक प्रस्तावबारे छलफल चलेका हरेक बैठकमा आफू सक्रिय सहभागी बनेको बताउँदै आफूलाई त्यसबारे जानकारी रहेको उल्लेख गरे।
'त्यसबारे मलाई जानकारी छ, किनभने त्यसमा म बसेको पनि थिएँ,' लावतीले शनिबार साँझ सेतोपाटीसँग भने, '१४ गतेको नौ बुँदे सहमतिमा धेरै कुरा नअटाएपछि हामीले पूरक सम्झौताको कुरा अघि सारेका थियौं। उहाँहरू मौखिक रूपमा हुन्छ भन्ने तर लिखित गर्न तयार नहुने देखियो।'
नेता लावती रास्वपाको आम पहिचान 'गणतन्त्र विरोधी, धर्म निरपेक्षता विरोधी र संघीयता विरोधी' रहेको बताउँछन्।
'उहाँहरूको पब्लिक पर्सेप्सन त्यस्तो भएकाले एकतापछि हाम्रोमा व्यापक विरोध भयो। त्यस कारण ती कुरा सुरूमै खुलाउनुपर्छ भनेर हामीले भनेका थियौं,' उनले भने, 'उहाँहरूले मौखिक रूपमा हुन्छ, हामी मान्छौं भने पनि नौबुँदे सहमतिमा राखिएन।'
त्यसले गर्दा उज्यालो नेपालभित्र व्यापक असन्तुष्टि आएको उनले जानकारी दिए।
'पछि कुरा गर्दा त्यसलाई पूरक सहमति बनाऔं भनेर भनियो,' लावतीले थपे, 'हामीले कुरा गर्दा उहाँहरूले धर्म निरपेक्ष राज्य, संघीयता, गणतन्त्र, समावेशी समानुपातिकता, बहुसंस्कृतिवाद र राष्ट्रिय एकता आत्मसात् गर्ने भनेर मान्नुभयो। बहुसंस्कृतिवाद र राष्ट्रिय एकता भन्ने कुरा स्वीकार गर्नुभयो।'
त्यो सहमति हुँदै गर्दा रास्वपाबाट शिशिर खनाल र गणेश कार्की सहभागी भएको उनले जानकारी दिए।
'१४ गतेपछि उहाँहरूले एउटा कुरा भन्ने र पछि नमान्ने अवस्था आएपछि हामीले पूरक सम्झौता लिखित रूपमा गरौं भनेर लिखत तयार गरियो,' लावतीको दाबी छ, 'तर पछि त्यसलाई उहाँहरूले अप्ठ्यारो मान्न थाल्नुभयो। किन गरिरहनुपर्छ, आवश्यक छैन भन्न थाल्नुभयो। आनाकानी सुरू भयो। उहाँहरूको तर्क धर्म निरपेक्षता, गणतन्त्र र संघीयता त संविधानले नै निश्चित गरिसकेको छ भन्ने थियो।'
रास्वपाका नेताहरूले यसो भनिरहँदा उज्यालो पक्षले 'तपाईंहरूको इमेज र पब्लिक पर्सेप्सन यस्तो छ, त्यसमा जनता र हाम्रो कार्यकर्ता सबै प्रस्ट हुन चाहन्छन्' भनेको लावतीले बताए।
'सुरूमा हुन्छ पनि भन्नुभयो। तर पछि राख्नु पर्दैन भन्ने कुरा शिशिरजी र गणेशजीमार्फत आउन थाल्यो,' लावतीले भने।
यो विषयमा रास्वपा सभापति रवि लामिछानेसँग पनि आफैले कुरा गरेको लावतीले बताए।
'रविजीसँग पनि कुराकानी भयो। म, डकेन्द्रसिंह थेगिमहरूले उहाँलाई भेटेर यो विषय उठाएका थियौं,' लावतीले भने, 'हामीले 'नो कोशी' देखि मुक्कुमलुङ (ताप्लेजुङको पाथिभरा) मा नो केवलकार आन्दोलनसम्मका कुरा सबै उठायौं। रविजी हुन्न केही नभन्ने, हुन्छ भइहाल्छ भन्ने तर लिखित सहमति गर्न नमान्ने। पूरक सम्झौता गरिरहनु पर्दैन, आवश्यक छैन भन्ने कुरा उहाँहरूको तर्फबाट आउन थाल्यो। त्यसपछि उहाँहरू मान्नेवाला हुनुहुन्न भन्नेमा हामी पुग्यौं।'
रास्वपा, उज्यालो र काठमाडौं महानगरका मेयर बालेन्द्र शाहबीच पछिल्लो पटक भएको भनिएको सहमतिताका नै रास्वपा र उज्यालोका नेताहरूको मत भिन्न सुनिन थालेको थियो।
पहिले पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षर गरिसकेपछि राजनीतिक एजेन्डामा छलफल थालेका रास्वपा र उज्यालो पक्षले अघिल्लो शनिबार नै सहमति टुंग्याएको बताएका थिए।
यद्यपि सहमतिबारे उज्यालो र रास्वपा पक्षका नेताहरूले फरक फरक व्याख्या गरेका थिए।
एजेन्डाबारे छलफल गर्न बनेको कार्यदलमा उज्यालो नेपालका तर्फबाट सदस्यसमेत रहेका जीतराम लामाले त्यस बेला दिएको जानकारी अनुसार पछिल्लो सहमतिमा रास्वपा, उज्यालो र बालेन शाह पक्ष गणतन्त्र, संघीयता र धर्म निरपेक्षतालाई मानेर अघि बढ्ने उल्लेख थियो।
'गणतन्त्र, संघीयता र धर्म निरपेक्षताका विषयमा अब कुनै दुबिधा नराखी संविधानसम्मत रूपमा जाने सहमति भएको छ। समानुपातिक समावेशिताका सवालमा राज्यका निकायमा सबैको प्रतिनिधित्व सुनिश्चित गर्ने कुरामा पनि सहमति जुटेको छ,' उज्यालो नेता लामाले यसो भनेको पाँच दिनपछि सहमति गर्न नमानेको भन्दै रास्वपाबाट उज्यालो पक्ष बाहिरिएको छ।
उज्यालो नेपालका अध्यक्ष कुलमानले रास्वपामा आफूले अपमानित महसुस गरेको केन्द्रीय समिति बैठकमा बताएका छन्।
रास्वपा सभापति रविले एकता भंग भएको घोषणा गरेपछि उज्यालो नेपालको केन्द्रीय समिति बैठकले कुलमानलाई अध्यक्ष नियुक्त गरेको थियो।
बैठकमा कुलमानले उज्यालो नेपालमै आबद्ध कार्यकर्ताहरूको भावना अनुरूप आफूले मन्त्री हुँदा पनि रास्वपा नेताका चाकरीकक्षमा जानुपरेको बताए।
त्यसपछि एकता भए पनि सम्मानित सिट बाँडफाँट नभएको उनले बताएका छन्।
'एकताको भावना अनुरूप सम्मानित सिट बाँडफाँट भएन। समानुपातिकमा हामीले पठाएका नाम काटियो। हालेका नाम तल पारियो। मैले अपमान महसुस गरेँ, त्यस कारण एक ठाउँमा रहन सकिएन। अब उज्यालो नेपाललाई अगाडि बढाउने हो,' उनले बैठकमा भनेका थिए।