नेपाली कांग्रेसको विशेष महाधिवशेन आइतबारदेखि भृकुटीमण्डपमा सुरू हुँदैछ।
दिउँसो १ बजे उद्घाटन हुने विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूलाई बिहान ८ बजे भृकुटीमण्डप उपस्थित हुन भनिएको छ।
विशेष महाधिवेशनमा भाग लिन आउनेहरूलाई नाम दर्ताका लागि बिहान ८ बजे आउन भनिएको हो।
उनका अनुसार महाधिवेशनमा सहभागी हुन आउनेको नाम दर्ताका लागि भृकुटीमण्डपको गेटम सम्मुखमै स्टल राखिएको छ। नाम दर्ता गर्न आउँदा परिचय खुल्ने कागज ल्याउनुपर्ने र दर्ता दस्तुर एक हजार रूपैयाँ लाग्ने गरी प्रबन्ध गरिएको छ।
बिहान ११ बजे विभिन्न ६ स्थानबाट जुलुस निकालिने आयोजकले जनाएको छ।
ती ६ ठाउँबाट निकालिने जुलुस विभिन्न रूट हुँदै भृकुटीमण्डप पुग्नेछ। जुलुस भृकुटीमण्डप प्रवेश गरेपछि औपचारिक उद्घाटन कार्यक्रम शुरू हुनेछ।
दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार जुलुस ललितपुरको कुपण्डोल तथा काठमाडौँका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट भृकुटीमण्डपतर्फ प्रस्थान गर्नेछ।
यस्तो छ जुलुस निस्कने रुट—
रुट नम्बर १
जम्मा हुने स्थान : सुन्धारा
सुन्धारामा चितवन, अर्घाखाँची, नवलपुर तथा सुदूरपश्चिमका जिल्लाबाट आएका कांग्रेस नेता–कार्यकर्ता जम्मा हुनेछन्।
काठमाडौँ निर्वाचन क्षेत्र ८,९ र १० का नेता–कार्यकर्ता पनि यही जुलुसमा सहभागी हुनेछन्।
जुलुस सुन्धाराबाट वीर अस्पताल, रत्नपार्क पुरानो बसपार्क हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ।
रुट नम्बर २
जम्मा हुने स्थान : रत्नपार्क
नुवाकोट, रसुवा, धादिङ तथा काठमाडौँको उत्तरी क्षेत्रका साथै निर्वाचन क्षेत्र ५, ६ र ७ का नेता–कार्यकर्ता रत्नपार्कको जुलुसमा सहभागी हुनेछन्।
यो जुलुस रत्नपार्कबाट पुरानो बसपार्क हुँदै विशेष महाधिवेशन स्थल पुग्नेछ।
रुट नम्बर ३
जम्मा हुने स्थान : पद्मकन्या क्याम्पस
यसमा बाँके, बर्दिया, धनुषा, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साबाट आएका नेता–कार्यकर्ता यस रुटमा सहभागी हुनेछन्।
काठमाडौँका क्षेत्र ५, ६ र ७ का नेता–कार्यकर्ता पनि यही जुलुसमा रहने छन् ।
जुलुस पद्मकन्या क्याम्पसबाट पुतलीसडक, शंकरदेव क्याम्पस, पद्मोदय मोड हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ।
रुट नम्बर ४
जम्मा हुने स्थान : शंकरदेव क्याम्पस
भक्तपुर, काभ्रे, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली तथा काठमाडौं निर्वाचन क्षेत्र २ र ३ का नेता–कार्यकर्ता यस जुलुसमा सहभागी हुनेछन्।
यो जुलुस शंकरदेव क्याम्पसबाट पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डप पुग्नेछ।
रुट नम्बर ५
जम्मा हुने स्थान : कमलपोखरी
काठमाडौँ निर्वाचन क्षेत्र १ र ४ का नेता–कार्यकर्ता कमलपोखरीमा जम्मा भएर चारखाल अड्डा, डिल्लीबजार, पुतलीसडक, शंकरदेव क्याम्पस हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछन्।
रुट नम्बर ६
जम्मा हुने स्थान : कुपण्डोल
ललितपुरको कुपण्डोलबाट निस्कने जुलुसमा ललितपुर र मकवानपुरका नेता–कार्यकर्ताको सहभागिता रहनेछ।
यो जुलुस कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुग्नेछ। विशेष महाधिवेशनलाई लिएर देशभरबाट ठूलो संख्यामा कांग्रेस नेता–कार्यकर्ता काठमाडौंमा भेला भइरहेका छन्।
आयोजक समितिले महाधिवेशनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी पूरा भएको जनाएको छ।