मिनियापोलिसको दक्षिणी भागमा शनिबार दिउँसो हजारौं प्रदर्शनकारी भेला भए।
यो त्यही ठाउँ जहाँ अमेरिकी अध्यागमन अधिकारीको गोलीबाट मारिएकी रेनी निकोल गुड बसोबास गर्थिन्। उनको घर नजिकै हिउँले ढाकिएको पार्कमा भेला भएका हजारौं प्रदर्शनकारीले 'हामी आइसिई (अध्यामन अधिकारी) सहँदैनौं' भन्ने नारा लगाएका थिए।
उनीहरू अमेरिकी सहरहरूमा अध्यागमन अधिकारी परिचालन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरूद्ध सडकमा ओर्लिएका हुन्।
काखमा बच्चा बोकेका आमा र ज्येष्ठ नागरिकहरू समेत आफैले बनाएका प्लाकार्ड बोकेर प्रदर्शनमा सहभागी थिए। ती प्लेकार्डमा 'आइसिईले रेनी गुडको हत्या गर्यो', 'एजेन्ट जोनाथन रसलाई कारबाही गर' लगायत नारा लेखिएका थिए।
यस्तै प्रदर्शन बोस्टन, न्यूयोर्क सिटी, अस्टिन, फिलाडेल्फिया सहित देशभरका विभिन्न सहरमा भएको अमेरिकी अखबार 'वासिङ्टन पोस्ट' ले जनाएको छ।
तीमध्ये धेरै प्रदर्शन प्रगतिशील समूह 'इन्डिभिजिबल' ले आयोजना गरेको थियो।
मिनियापोलिसमा पछिल्ला दिनका प्रदर्शन शान्तिपूर्ण रहेको प्रहरी प्रमुख ब्रायन ओ'हारा ले शनिबारको पत्रकार सम्मेलनमा बताएका छन्।
उनका अनुसार, शुक्रबार राति अध्यागमन अधिकारीहरू बसिरहेको भनिएको एउटा होटल बाहिर भएको प्रदर्शन भने तनावग्रस्त बनेको थियो। केही व्यक्तिले त्यहाँको भौतिक सम्पत्तिमा क्षति पुर्याउनुका साथै प्रहरीमाथि हिउँ, बरफ र ढुंगा प्रहार गरेका थिए।
प्रहरीले २९ जनालाई पक्राउ गरेको छ भने कम्तिमा एक प्रहरी अधिकारी बरफको ठूलो टुक्रा लागेर घाइते भएका छन्।
मिनियापोलिसका मेयर जेकब फ्रेले प्रदर्शनकारीहरूलाई शान्त रहन र 'हिंसामा नफस्न' आग्रह गरेका छन्।

अमेरिकी अध्यागमन अधिकारीको गोलीको सिकार भएकी महिला ३७ वर्षीया रेनी निकोल गुड एक पुरस्कारप्राप्त कवि, तीन सन्तानकी आमा र चलचित्रप्रेमी रहेको 'वासिङ्टन पोस्ट' लेखेको छ।
वासिङ्टन पोस्टका अनुसार रेनीले भर्जिनियाको नर्फोकस्थित ओल्ड डोमिनियन विश्वविद्यालयमा सिर्जनात्मक लेखन अध्ययन गरेकी थिइन्। उनले सन् २०२० मा स्नातक विद्यार्थीहरूका लागि दिइने 'एकेडेमी अफ अमेरिकन पोएट्स' पुरस्कार जितेकी थिइन्। रेनीकी १५ वर्षीया छोरी र १२ र ६ वर्षका दुई छोरा छन्।
डेमोक्रेट सिनेटर टीना स्मिथ (मिनेसोटा) ले सामाजिक सञ्जालमा लेखे अनुसार रेनी आप्रवासी होइन, अमेरिकी नागरिक थिइन्। तर संघीय अधिकारीहरूले अहिलेसम्म उनको नाम सार्वजनिक गरेका छैनन्। उनको नागरिकता पनि पुष्टि गरेका छैनन्।
वासिङट्न पोस्टका अनुसार यो गोलीकाण्ड र त्यसबारे ट्रम्प प्रशासनले अघि सारेको कथनले मिनियापोलिस मात्र होइन, सिंगो देशलाई तरंगित बनाएको छ।
अवैध आप्रवासीविरूद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पले देशव्यापी कारबाही थालेपछि सयौं अध्यागमन एजेन्टहरू मिनियापोलिसमा तैनाथ गरिएका छन्।
गत बुधबार बिहान करिब १०:२५ बजे भएको गोलीकाण्डको क्षण सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा देखिन्छ। विभिन्न कोणबाट खिचिएका ती भिडिओमा मिनियापोलिसको एक आवासीय सडकमा एक एसयुभी गाडी बाटो छेकेर रोकिएको देखिन्छ। सडक छेउमा विरोध प्रदर्शन गरिरहेका जस्ता देखिने मानिसहरूको भिड उभिएको छ।
त्यसैबीच अध्यागमन अधिकारीहरू गाडी नजिक पुग्छन् र एसयुभी चलाइरहेकी महिलालाई बाहिर निस्कन आदेश दिन्छन्।
एक जना एजेन्टले चालकपट्टिको ढोका तान्छन्। अर्का एजेन्ट गाडीको अगाडि उभिएका देखिन्छन्।
बिबिसीका अनुसार ती एजेन्ट गाडीबाट कति नजिक थिए वा उनी गाडीले ठक्कर खाएका थिए कि थिएनन् भन्ने स्पष्ट छैन।
त्यसपछि उक्त एसयुभी अघि बढ्न खोज्दा ती एजेन्टले गोली चलाउँछन्।
त्यहाँ तीन पटक गोली चलेको आवाज सुनिन्छ। गाडी नियन्त्रण गुमाएर सडक छेउमा पार्क गरिएको अर्को गाडीमा ठोक्किन्छ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मा लेख्दै एक अध्यागमन अधिकारीलाई 'निर्ममतापूर्वक' गाडीले किचिएको दाबी गरेका छन्।
ट्रम्प प्रशासनले मिनेसोटाको मिनियापोलिस क्षेत्रमा थप २,००० संघीय एजेन्ट तैनाथ गरेको छ। बुधबारको पत्रकार सम्मेलनमा मेयरले त्यस्ता एजेन्टको उपस्थितिले सहर असुरक्षित भएको बताएका थिए।
उता अमेरिकी अध्यागमन अधिकारीहरूले गत बिहीबार ओरेगनको पोर्टल्यान्ड सहरमा पनि गोली चलाएको थियो। यसबाट दुई जना स्थानीय घाइते भएका थिए।
लगातार भएका यी दुई गोलीकाण्डले अमेरिकामा अध्यागमन अधिकारीहरूविरूद्ध देशव्यापी प्रदर्शन सुरू भएको हो।

