पाँच जिल्ला चहारेर रूकुम पूर्व जाने टुंगो लागेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' मताधारका हिसाबले त्यहाँ सुरक्षित देखिएका छन्। शनिबार रूकुम पश्चिम पुगेर प्रचण्डले आफू पूर्वी रूकुमबाट उम्मेदवार बन्न लागेको घोषणा गरेका थिए।
नेकपाले उम्मेदवारीको टुंगो नलगाएपछि त्यहाँ प्रचण्ड उठ्ने पक्कापक्की भइसकेको छ।
यसअघि प्रचण्ड २०६४ सालमा काठमाडौं–१० र रोल्पा–२ बाट चुनाव उठेका थिए। दुवै क्षेत्रबाट चुनाव लडेका प्रचण्डले काठमाडौं– १० रोज्दै रोल्पा छाडेका थिए।
२०७० मा प्रचण्ड काठमाडौं–१० र सिराहा–५ बाट उम्मेदवार बनेका थिए। त्यति बेला सिराहाबाट मात्र चुनाव जितेका प्रचण्ड २०७४ मा भने चितवन–३ बाट उम्मेदवार बनेका थिए।
२०७९ को निर्वाचनमा भने उनी गोरखा–२ बाट उम्मेदवार बनेका थिए।
अहिले उनी रूकुम पूर्वबाट उठ्न लागेका छन्। सशस्त्र द्वन्द्व कालमा रूकुम तत्कालीन माओवादीको आधार क्षेत्र थियो। अहिल बाँडेर दुई क्षेत्रमा विभक्त गरिए पनि पूर्वी रूकुम माओवादीका लागि निकै सुरक्षित मानिन्छ।
प्रचण्ड नै जाने भएपछि उनका लागि उक्त क्षेत्र झन् बढी सुरक्षित भएको नेकपाको विश्लेषण छ।
भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यसले पुराना दलहरूलाई रक्षात्मक बनाइरहेको अवस्थामा प्रचण्डका लागि सुरक्षित ठाउँ खोज्नुपर्ने नेकपाका लागि बाध्यता जस्तै थियो।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा संयोजक प्रचण्ड १० भन्दा बढी निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस भएका थिए। कञ्चनपुर, रूकुम पूर्व, रोल्पा, गोरखादेखि सिन्धुलीसम्म प्रचण्ड उम्मेदवार सिफारिस भएका थिए।
यी सबैको तुलनामा रूकुम पूर्व नै सुरक्षित देखिएपछि प्रचण्ड त्यहीँबाट उठ्न राजी भएका हुन्।
त्यसो त संयोजक प्रचण्डले दोहोर्याएर उठेका ठाउँमा चुनाव जितेका छैनन्। २०६४ मा काठमाडौं–१० बाट उनी २३ हजार २७७ मत ल्याएर निर्वाचित भएका थिए। २०७० मा दोहोर्याएर उठ्दा त्यही क्षेत्रबाट १२ हजार ८५९ मत ल्याएर तेस्रो भएका थिए।
त्यस कारण पनि प्रचण्ड त्यसपछिका निर्वाचनमा दोहोर्याएर उठेका छैनन्। र, नयाँ नयाँ क्षेत्र खोज्ने गरेका छन्।
प्रचण्ड उठ्ने नै निश्चित भएपछि हामीले रूकुम पूर्वको पछिल्ला दुई चुनावको मत विश्लेषण गरेका छौं।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धन गरेर चुनाव गरेका थिए। त्यति बेला तीन पालिका रहेको रूकुम पूर्वमा तीनैवटा पालिका माओवादी केन्द्रले जितेको थियो।
त्यति बेला पुथा उत्तरगंगामा माओवादी उम्मेदवार ओमप्रकाश घर्ती २ हजार ५५१ मत प्राप्त गरी विजयी भएका थिए। भूमे गाउँपालिकामा रामसुर बुढामगर ३ हजार ४८२ मतसहित अध्यक्ष निर्वाचित भएका थिए। सिस्ने गाउँपालिकामा कुमारी बराल (गौतम) ३ हजार २९६ मतसहित अध्यक्ष निर्वाचित भएकी थिइन्।
२०७४ सालमा नेकपा एमाले र माओवादी केन्द्र गठबन्धन गरेर चुनाव लडेका थिए।
त्यति बेला माओवादी केन्द्रका उम्मेदवार कमला रोका १० हजार ४३४ मतसहित सांसद निर्वाचित भएकी थिइन्। एक्लै लडेको नेपाली कांग्रेसका उम्मेदवार हरिशंकर घर्ती मगरले ४ हजार ४०६ मत ल्याएका थिए।
२०७४ मा कुल मतदाता २७ हजार ९२८ जना थिए। २०७४ को निर्वाचनमा माओवादी केन्द्रको समानुपातिक ८ हजार ८९१ मत प्राप्त गरेको थियो।
त्यो क्षेत्रमा नेकपा एमाले र नेपाली कांग्रेसको मतमा धेरै अन्तर देखिँदैन। २०७४ को निर्वाचनमा समानुपातिकतर्फ नेपाली कांग्रेसले ३ हजार ६६८ र एमालेले तीन हजार मत प्राप्त गरेका थियो।
२०७९ को स्थानीय तह निर्वाचनमा पनि तीनैवटा पालिका माओवादी केन्द्रले नै जितेको थियो।
प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार पूर्णबहादुर घर्ती मगर १२ हजार २६२ मत सहित सांसद निर्वाचित भएका थिए। यो निर्वाचनमा कांग्रेस र माओवादी केन्द्र गठबन्धन गरेर चुनाव लडेका थिए। एमाले एक्लै लडेको थियो। एक्लै लडेको एमालेका उम्मेदवार कैलाशकुमार मल्लले ५ हजार २११ मत प्राप्त गरेका थिए।
यो निर्वाचनमा समानुपातिकतर्फ माओवादी केन्द्रको मत केही घटेको देखिए पनि पहिलो मत नै प्राप्त गरेको थियो। यो निर्वाचनमा कांग्रेसको मत भने केही बढेको देखिएको छ।
२०७९ को निर्वाचनमा माओवादी केन्द्रले ८ हजार २७१ मत ल्याएको थियो। कांग्रेसले ५ हजार ६९२ मत प्राप्त गरेको थियो। एमालेले ३ हजार ६५९ मत प्राप्त गरेको थियो।
यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएकाले माओवादी केन्द्रको मत घटेको मान्न सकिन्छ। रूकुम पूर्वमा रास्वपाले समानुपातिकतर्फ ४६६ मत ल्याएको थियो। एमाले विभाजन बनेको एकीकृत समाजवादीले ३७५ मत प्राप्त गरेको थियो।
अहिले मतादाता बढेर ३४ हजार ७७२ पुगेको छ। मतदाता बढे पनि संयोजक प्रचण्डलाई चुनाव जित्न समस्या नरहेको नेकपाको बुझाइ देखिन्छ।
रोल्पामा वर्षमान उठ्ने निश्चित
नेकपाका एक नेताले बताए अनुसार प्रचण्ड पूर्वी रूकुमबाट उठ्ने टुंगो लागेकाले वर्षमान पुन रोल्पाबाट उठ्ने पक्कापक्की भएको छ। सुरक्षित निर्वाचन क्षेत्र खोजिरहेका प्रचण्डलाई पुनले नै रोल्पाबाट उठ्न प्रस्ताव गरेका थिए।
पूर्वी रूकुमको जिल्ला कमिटी नै डेलिगेसन आएर प्रचण्डलाई ठाउँ खाली गरेको जानकारी दिएपछि उनी त्यहाँबाट उठ्न सकारात्मक भएका हुन्।
प्रचण्ड रूकुम गएपछि २०७४ देखि रोल्पाबाट लगातार चुनाव जित्दै आएका वर्षमान पुन त्यहीँबाट उम्मेदवार बन्ने भएका हुन्।
यसअघिका निर्वाचन पुनका निम्ति सजिलो भए पनि अहिले भने सहज छैन। गुलाफ चिह्न पाएर पहिलो पटक संसदीय निर्वाचनमा होमिन लागेका नेकपा महासचिव नेत्रविक्रम चन्द 'विप्लव सी' पनि रोल्पाबाट एकल सिफारिस भएका छन्।
उनलाई प्रचण्ड नेतृत्वको नेकपाले कपिलवस्तु–३ बाट उठ्न प्रस्ताव गरिरहेको छ। त्यहाँबाट उम्मेदवारी दिए आफू सघाउन तयार रहेको नेकपाको भनाइ छ। तर यसको जबाफ विप्लवले दिइसकेका छैनन्।