नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सबै मिलेर एकताको महाधिवेशन गर्न सकिने टिप्पणी गरेका छन्।
कांग्रेसको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले बोलाएको विशेष महाधिवेशनको उद्घाटनको ठीक अघि कोइरालाले सहमति र सहकार्यका साथ समग्र कांग्रेस एकताको महाधिवेशन गर्न सक्ने बताएका हुन्।
कोइराला पक्षका नेताहरू क्रमश विशेष महाधिवेशनको पक्षमा खुल्न थालेपछि उनले भिडिओ सन्देश जारी गर्दै ‘एक्लो भएपनि बीपी, सुवर्ण, गणेशमान, किसुनजी, गिरिजाबाबु र सुशील दाइले छोडेको मौलिक आदर्श र सिद्धान्तको पदचापबाट विचलित नहुने’ उल्लेख गरेका छन्।
कोइरालानिकट कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की विशेष महाधिवेशनको पक्षमा खुलेका छन्। त्यस्तै केन्द्रीय सदस्य चन्द्र भण्डारी र सुनिल शर्मा पनि विशेष महाधिवेशनको पक्षमा खुलेका छन्।
‘हामीले भावी पुस्तालाई फेरि बलिदान र संघर्षको मध्ययुगीन चरणमा पुगेको नेपाल छाडेर जान दिनु हुँदैन’, कोइरालाले भिडिओ सन्देशमा भनेका छन्, ‘नेपाली कांग्रेसभित्र संगठित प्रयत्नहरू अगाडि आएका छन्, र पार्टीको विधानलाई लोकतान्त्रिक बनाउन शक्ति पृथकीकरणको मौलिक सिद्धान्त प्रयोग गर्ने कोसिस गरिएको छ, जसको श्रेय पुरानो पुस्तालाई जान्छ।’
उनले पार्टी भित्र आफूले पुस्तान्तरण र हस्तान्तरणको अभियान चलाएको उल्लेख गर्दै मन्त्री, महामन्त्री, सभापति वा प्रधानमन्त्री हुने लोभले कहिल्यै आकर्षित नगरेको बताएका छन्।
‘म एकातिर सभापति शेरबहादुर देउवाको कार्यशैलीसँग लड्नुपरिरहेको छ भने अर्कोतिर ऊर्जावान युवाहरूको असन्तोषको सामना गरिरहेको छु’, कोइरालाले भनेका छन्, ‘मैले कांग्रेस विशेष महाधिवेशनको अभियानमा आफ्नो मत लिखित रूपमै राखेको छु, ताकि पार्टीमा कुनै पनि प्रकारको विभाजनको सन्देश नजाओस्। म अन्तिमसम्म पार्टी विधान र भावनात्मक एकताका लागि त्याग र अपमान सहेर पनि अगाडि बढ्नेछु।’
उनले विशेष महाधिवेशनका लागि काठमाडौं आएका महाधिवेशन प्रतिनिधिहरू पार्टीका धरोहर भएको उल्लेख गर्दै विधिको प्रभावकारिता स्थापित गर्ने ऐतिहासिक दायित्व आएको उल्लेख गरेका छन्।
‘मेरो लडाइँ शान्त र संयमित थियो। मेरो शैलीसँग केही साथीहरू असहमत थिए भन्ने म बुझ्थेँ। तर अधैर्य भएर म अघि बढिनँ,’ कोइरालाले भनेका छन् ‘मेरो निजी महत्वाकांक्षा छैन।’
भिडिओः