कांग्रेस नेता पुष्पा भुसालले आफ्नो मन्तव्यका क्रममा स्वर्गीय नेता शैलजा आचार्यलाई सम्झिएकी छन्।
आइतबार विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले अब बन्ने कांग्रेस शैलजा आचार्यले भनेजस्तो दुबोसरी फैलिनुपर्ने बताएकी हुन्।
'अब नेपाली कांग्रेसलाई वाम गठबन्धनबाट मुक्त बनाउनुपर्छ। नेपाली जनताको कांग्रेस बनाउनुपर्छ। हाम्रो नेता शैलजा आचार्यले भनेजस्तै दुवो जस्तै फैलिने कांग्रेस बनाउनुपर्छ,' उनले भनिन्।
उनले थप भनिन्, 'त्यसैले ७७ जिल्लाका प्रतिनिधिहरूलाई, केन्द्रीय सदस्य र नेताहरूलाई राजनीतिक न्यायका लागि विधानको स्मरण गराउन चाहन्छौं। यो महाधिवेशनबाट नयाँ साहसको साथ, नयाँ ऊर्जाको साथ, नयाँ सोचका साथ आगामी दिनमा कांग्रेस एकताबद्ध भएर गाउँ गाउँ जाऊँ र गाउँमा बसेका युवाहरू, दिदीबहिनीहरूलाई संगठित होऊँ, अब नेताको वरिपरि घुम्न नपरोस्, त्यस्तो कांग्रेस बनाउनुपर्छ भन्ने मान्यता राखेर यो अधिवेशन अन्त्य हुनुपर्छ भन्ने अनुरोधको साथ सफलताको शुभकामना।'
एकताबद्ध र विधिविधान मान्ने कांग्रेस बनाउन आफूहरू चुनावअघि नै नेताको घरघर गएको उनले बताइन्।
चुनावअघि नै महाधिवेशन हुनुपर्छ भनेर निरन्तर पहल गर्ने शेरबहादुर देउवा पक्षीय ३० केन्द्रीय सदस्यहरूको समूहलाई उनले नेतृत्व गरेकी थिइन्।
'पार्टी विधानले खोजेको, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले रोजेको, चाहेको विशेष अधिवेशन हो,' उनले भनिन्, '५४ प्रतिशत हस्ताक्षर जब केन्द्रीय समितिमा दर्ज भयो, हामी सबै नेताको घरघरमा गयौं। विधान अनुसार विशेष महाधिवेशन हुनुपर्छ भनेर सम्झायौं। तर उहाँले मान्नुभएन।'
उनले आफूहरू ३० जना आज विशेष महाधिवेशनस्थलमा आएको विधानको धारा १७ (२) भन्दा बाहिर कोही नेता, कोही कार्यकर्ता जान सक्दैन भन्ने सन्देश दिन भएको पनि बताइन्।
आफूहरूले नेपाली कांग्रेस विधिविधान अनुसार चल्न र गुटबाट मुक्त भएको हेर्न चाहेको पनि उनले बताइन्।
'हामी चाहन्छौं, अब कांग्रेस गुटबाट मुक्त हुनुपर्छ। हामी गुट चिन्दैनौं, हामी कृपा मान्दैनौं। हामी कमजोर हुन दिँदैनौं। महामन्त्रीहरूले अन्याय अत्याचार विरूद्ध राजनीतिक न्यायका लागि यो महाधिवेशनको नेतृत्व गरिरहनुभएको छ। तर यो देशका ४० प्रतिशत युवाहरू ऋणको बोझ बोकेर बिदेसिन नपरोस्। हाम्रा महिलाहरू हिंसाबाट मुक्त होऊन्। त्यो पनि यो महाधिवेशनले सन्देश दिन जरूरी छ,' उनले भनिन्।