नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २३ र २४ को जेनजी आन्दोलनमा नवयुवाहरूको मात्र होइन, देशभरका लाखौं लाख नागरिको आक्रोश सडमा अभिव्यक्त भएको बताएका छन्।
'राजाको छोरा राजा हुने राजतन्त्र फालेर हामीले ल्याएको गणतन्त्रमा नेपो-बेबीहरूको राज देखेर उनीहरू रिसाएका हुन्। र, आम नागरिकको त्यो रिस जेनजी आन्दोलन क्रममा सडकमा पोखिएको हो,' कांग्रेसको दोस्रो विशेष महाधिवेशनको जारी उद्घाटन सत्रमा महामन्त्री थापाले भने।
उनले अगाडि भने, 'त्यो आन्दोलनमा जनताले सरकारसँग रिस पोखेका थिए। त्यो सरकारमा को थियो? हामी थियौं। उनीहरू संसदसँग रिसाएका थिए। त्यो संसदमा को थिए? हामी थियौं। उनीहरू हामीसँग व्यक्तिगत रूपमा रिसाएका होइनन्, यहाँको भ्रष्टाचार र कुशासन देखेर रिसाएका हुन्।'
महामन्त्री थापाले पछिल्लो समय आफूले देखेका राजनीतिक कार्यक्रममा यति ठूलो जनसहभागिता र चासो आफूले कहिल्यै नदेखेको पनि उल्लेख गरे।
'तपाईंहरूको उपस्थितिले पनि देखाउँछ, यो महाधिवेशन त्यसै विशेष भएको होइन। यसको नाम मात्र विशेष होइन, यसलाई हामीले विशेष बनाएर देखाउनुछ,' उनले भने।
आफूहरूले पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि सहभागी होस् भन्ने चाहेको महामन्त्री थापाले उल्लेख गरे।