गृहमन्त्री ओमप्रकाश अर्यालका स्वकीय सचिव धीरज जोशी कञ्चनपुर क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तयारी गरिरहेका छन्।
फागुन २१ गते हुने निर्वाचनका लागि उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कञ्चनपुर क्षेत्र नम्बर ३ बाट चुनाव लड्न लागेका हुन्।
‘कञ्चनपुर-३ बाट चुनाव लड्ने तयारी गर्दैछु। केही दिनअघि चुनावी क्षेत्र पुगेर अहिले काठमाडौं फर्किएको छु,’ उनले सेतोपाटीसँग भने।
उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह निकट छन्। गृहमन्त्री अर्यालको स्वकीय हुनुपूर्व उनी मेयरको सचिवालयमा बसेर काम गरिरहेका थिए। उनी बाल अधिकार सम्बन्धी काम गर्दै आएका अभियानी समेत हुन्।
महानगरमा हुँदा धीरज जोशी नेतृत्वको टिमले नेकपा एमालेका लुम्बिनी प्रदेश सांसद रेखा शर्माको घरबाट नाबालिकाको उद्धार गरेको थियो। त्यही बेला महानगरले काठमाडौंबाट ८३ जना जोखिममा परेका बालबालिकाको उद्धार गरेको थियो।
जेनजी आन्दोलनपछि उनी सचिवालयबाट राजीनामा दिएर मन्त्री अर्यालको स्वकीय सचिव भएका हुन्। जेनजी आन्दोलनपछि भएका विभिन्न वार्तामा पनि उनी सहभागी हुँदै आएका थिए। त्यसअघि उनी विभिन्न आन्दोलनमा पनि सहभागी भएका छन्।
कोभिड महामारीको समयमा उनले कञ्चनपुरमै बसेर 'इनफ इज इनफ' आन्दोलन गरेका थिए।
यसअघिको निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका रमेश लेखक विजयी भएका थिए। उनले ३० हजार ५७५ मत पाएका थिए। नेकपा एमालेका उम्मेदवार निरूदेवी पालले त्यतिबेला १८ हजार ४८५ मत पाएकी थिइन्। यस्तै रास्वपाका कृष्ण लुहारले २ हजार ३१ मत ल्याएका थिए।
यसपालि पनि कञ्चनपुर-३ बाट कांग्रेसमा लेखक सिफारिस भएका छन्।