इसराइलमा आज चुनाव हुँदैछ।
स्थानीय समयअनुसार बिहान ७ बजेदेखि मतदान सुरू हुँदैछ।
यो निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको राजनीतिक भविष्यको परीक्षा हुँदैछ।
सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि सुरक्षा व्यवस्थामाथि उठेका प्रश्न, गजामा जारी सैन्य कारबाही, इरानसँगको युद्ध र अन्तर्राष्ट्रिय रूपमा इसराइलको बढ्दो एक्लोपनबीच नेतन्याहूले मतदाताको विश्वास जित्नुपर्ने चुनौती छ।
इसराइलको सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका नेतन्याहूले १९ वर्ष सरकारको नेतृत्व गरिसकेका छन्।
तर यसपालिको निर्वाचनमा उनको लिकुड पार्टी र दक्षिणपन्थी सहयोगीहरूको गठबन्धनले पूर्वसेनाप्रमुख गादी आइजेनकोट नेतृत्वको प्रतिस्पर्धी गठबन्धनसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने देखिएको रोयटर्सले जनाएको छ।
निर्वाचनपूर्वका मत सर्वेक्षणले दुवै पक्षबीच नजिकको प्रतिस्पर्धा हुने संकेत गरेका छन्।
नेतन्याहूले आफ्नो चुनावी अभियानमा युद्धकालीन नेतृत्व र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्धलाई मुख्य उपलब्धिका रूपमा प्रस्तुत गरेका छन्।
ट्रम्पले उनलाई समर्थन गरेका छन् र इरानविरुद्धको युद्धमा पनि अमेरिका इसराइलसँगै उभिएको छ।
आइतबार नेतन्याहूले ट्रम्प इरानबाट उत्पन्न खतरा अन्त्य गर्न फेरि कदम चाल्न तयार रहेको दाबी गरेका थिए। तर त्यसका लागि आफू नै सत्तामा रहनुपर्ने उनको भनाइ थियो।
उनका प्रतिस्पर्धी आइजेनकोटले भने नेतन्याहूमाथि मतदातालाई त्रास देखाएर, झुट बोलेर र धम्की दिएर चुनाव जित्न खोजेको आरोप लगाएका छन्। ट्रम्पले इसराइली जनताले छानेका जुनसुकै नेतासँग पूर्ण सहकार्य गर्ने उनले बताएका छन्।
निर्वाचनमा नेतन्याहूले फेरि अतिदक्षिणपन्थी नेता इतामार बेन–गभिर र बेजालेल स्मोट्रिचको साथ लिनुपर्ने हुन सक्छ।
उनीहरूका पार्टीले दक्षिणपन्थी मतदाताबीच समर्थन पाइरहेका छन्। तर प्यालेस्टिनीविरुद्ध हिंसा भड्काएको आरोपमा दुवै नेतामाथि केही पश्चिमा देशले प्रतिबन्ध लगाएका छन्।
इसराइलको १२० सदस्यीय संसदमा सरकार गठन गर्न कम्तीमा ६१ सिट आवश्यक पर्छ।
नेतन्याहू र आइजेनकोट दुवैका लागि स्पष्ट बहुमत जुटाउने बाटो सहज देखिएको छैन। कुनै पनि पक्षले सरकार गठन गर्न नसके नेतन्याहू अर्को निर्वाचन नहुँदासम्म कामचलाउ प्रधानमन्त्रीका रूपमा कायम रहन सक्छन्।
सन् १९४८ मा इसराइल स्थापना भएयताकै सबैभन्दा उथलपुथलपूर्ण समयमा यो निर्वाचन हुन लागेको हो।
सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वका लडाकुहरूले गरेको आक्रमणमा १२०० जनाको हत्या भएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो।
त्यसपछि इसराइली सेनाले गजामा व्यापक सैन्य कारबाही गरेको छ। गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार इसराइली आक्रमणमा ७४ हजार मानिस मारिएका छन्।
अक्टोबर ७ को आक्रमण रोक्न नसकेको सुरक्षा विफलताको जिम्मेवारी नेतन्याहूले लिनुपर्ने विपक्षीहरूको माग छ।
उनीहरूले घटनाको छानबिन गर्न राष्ट्रिय अनुसन्धान आयोग गठन गर्नुपर्ने बताएका छन्। नेतन्याहूका समर्थक भने उनले युद्धलाई उचित ढंगले अघि बढाएको दाबी गर्छन्।
इसराइलको कब्जामा रहेको पश्चिम किनारमा प्यालेस्टिनीमाथि यहुदी बस्तीका बासिन्दाबाट हुने हिंसा बढेको विषय पनि चुनावी बहसमा छ।
यसले इसराइलको पश्चिमा देशसँगको सम्बन्धमा असर पारेको छ। नेतन्याहू भ्रष्टाचारसम्बन्धी मुद्दामा पनि कानुनी लडाइँ लडिरहेका छन्। उनले आफूमाथिका आरोप अस्वीकार गर्दै आएका छन्।
इसराइलका अरब नागरिकको मतदान सहभागिताले पनि सरकार गठनको समीकरणमा प्रभाव पार्न सक्छ।
आइजेनकोटले अरब पार्टीसँग औपचारिक गठबन्धन नगर्ने बताएका छन्।
तर नेतन्याहूलाई सत्ताबाट हटाउन ती पार्टीले उनको नेतृत्वमा बन्ने अल्पमतको सरकारलाई बाहिरबाट समर्थन गर्न सक्ने सम्भावना विश्लेषकहरूले औँल्याएका छन्।
इसराइलमा मतदान स्थानीय समयअनुसार बिहान ७ बजेदेखि राति १० बजेसम्म हुनेछ।
राजनीतिक विश्लेषक अमोत्स आसाएलले यसपटक कुनै एक पक्षले ठूलो अन्तरले जित्ने सम्भावना नरहेको बताएका छन्।
उनका अनुसार दुवै पक्षमध्ये जसले जिते पनि संसदमा बहुमत जुटाउन कठिन हुन सक्छ।