अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दि सिल्भाले जितेको चुनावमा धाँधली भएको हुन सक्ने बताएका छन्।
सोमबार पत्रकारहरूसँग कुरा गर्दै उनले चुनावमा धाँधली भएको हुन सक्ने बताएका हुन्। त्यसबारेमा उनले कुनै प्रमाण भने प्रस्तुत नगरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
‘मैले कसैको पक्ष लिएको थिइनँ, तर यो पनि अर्को धाँधली भएको चुनावजस्तै देखियो,’ ट्रम्पले भने, ‘निर्वाचन निर्विवाद हुनुपर्छ। तर यो निकै खराब देखियो।’
ब्राजिलमा आइतबार भएको राष्ट्रपतीय निर्वाचनमा लुलाले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो बोल्सोनारोलाई पराजित गरेका थिए।
पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका छोरा फ्लाभियोले भने सुरुमा चुनावी परिणाम स्वीकार गर्न अस्वीकार गर्दै नतिजा रद्द गर्न माग गरेका थिए।
मतदानको समय दुई घण्टा थप्ने सर्वोच्च अदालतको निर्णयलाई प्रश्न उठाउँदै उनले चुनाव रद्द गर्न माग गरेका थिए।
तर सोमबार उनको लिबरल पार्टीले निर्वाचनको परिणाम स्वीकार गर्ने जनाएको छ।
पार्टी प्रमुख भाल्देमार कोस्टा नेटोले परिणाम स्वीकार गरे पनि उठाइएका प्रश्नको उचित निरूपण हुनुपर्ने बताएका छन्।
रोयटर्सका अनुसार लुलाले फ्लाभियोलाई ४० लाखभन्दा बढी मतले पराजित गरेका हुन्।
मतदानको समय थपिएको दुई घण्टामा ३५ हजारभन्दा कम मत खसेको थियो, जुन कुल मतको करिब ०.०३ प्रतिशत हो।
त्यसैले मतदानको समय थपिएको विषयले मात्रै परिणाम उल्ट्याउन सक्ने सम्भावना निकै कम रहेको विश्लेषण गरिएको छ।
ट्रम्पका पूर्वसहयोगी जाइर बोल्सोनारो सन् २०२२ को निर्वाचनमा लुलासँग पराजित भएका थिए। उनले पनि त्यसबेला हार स्वीकार गरेका थिएनन्।
निर्वाचन परिणाम उल्ट्याएर सत्तामा रहिरहने षड्यन्त्र गरेको अभियोगमा ब्राजिलको सर्वोच्च अदालतले उनलाई २७ वर्षको जेल सजाय सुनाएको छ।
ट्रम्प प्रशासनले पछिल्लो समय ल्याटिन अमेरिकी देशहरूमा दक्षिणपन्थी नेताहरूले हासिल गरेका चुनावी सफलताको स्वागत गर्दै आएको छ।
ब्राजिलमा लुलाको जितले भने त्यस क्षेत्रमा दक्षिणपन्थी नेतृत्वको प्रभाव विस्तार गर्ने ट्रम्पको प्रयासलाई धक्का दिएको छ।