पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको सीमाभित्र रहेर पूरा कार्यकाल काम गर्न दिनुपर्ने बताएका छन्। निर्वाचनलगत्तै सरकार परिवर्तन गर्ने र आन्दोलन गर्ने चर्चा चल्नु चिन्ताजनक भएको उनको भनाइ छ।
भट्टराईले प्रमुख राष्ट्रिय चाडपर्व सकिएलगत्तै देशमा आन्दोलन गर्ने र सरकार परिवर्तन गर्ने विषयमा चर्चा हुन थालेको भन्दै असन्तुष्टि जनाएका हुन्।
‘प्रमुख राष्ट्रिय चाडपर्वहरू सकिएलगत्तै देशमा आन्दोलनको आँधीबेहरी ल्याउने, सरकार परिवर्तन गर्ने आदि चर्चा चल्न थाल्नु विडम्वनापूर्ण र चिन्ताजनक छ,’ भट्टराईको भनाइ छ।
उनले लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्षबीच प्रतिस्पर्धा र सहकार्य हुनु स्वाभाविक भएको उल्लेख गर्दै सरकारका कामको आलोचना र खबरदारी गर्नुपर्ने बताए। तर, निर्वाचन सम्पन्न भएको केही दिनदेखि नै सरकार ढाल्ने चर्चा गर्नु उचित नभएको उनको भनाइ छ।
विगतमा पटक-पटक सरकार परिवर्तन हुँदा देशले त्यसको नकारात्मक परिणाम भोगिसकेको भन्दै उनले यस्ता गतिविधिले राजनीतिक अस्थिरता बढाउने, अर्थतन्त्र कमजोर बनाउने र युवालाई विदेशिन बाध्य पार्ने बताएका छन्।
भट्टराईले आज सामाजिक सञ्जालमार्फत् धारणा प्रस्तुत गर्दै देशको हित चाहने सबै नागरिकलाई सरकारका कामप्रति निरन्तर खबरदारी गर्न पनि आग्रह गरेका छन्।
विशेषगरी विपत्तिमा परेका, ऐतिहासिक रूपमा पछाडि पारिएका र गरिब तथा कमजोर वर्गका नागरिकको आवाज सरकारले सुन्नुपर्नेमा उनले जोड दिए।
सरकारले जनताको आवाज नसुने विधिसम्मत प्रक्रियाबाट कारबाही गर्न र पदबाट हटाउनुपर्ने उनको भनाइ छ।
तर, निर्वाचित सरकारलाई संविधानको सीमाभित्र रहेर पूरा कार्यकाल काम गर्न दिनुपर्ने उनले बताएका छन्। सरकारले राम्रो काम नगरे वा देशलाई बिगार्ने काम गरे अर्को निर्वाचनमार्फत बिदा गर्नुपर्ने भट्टराईको धारणा छ।