कांग्रेस विशेष महाधिवेशनबाट चयन भएका पदाधिकारीहरू निर्वाचन आयोग प्रस्थान गरेका छन्।
ललितपुरको कुपन्डोलमा पहिलो केन्द्रीय समितिको बैठक बसेर पदाधिकारीहरू विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग प्रस्थान गरेका हुन्।
पार्टीको आधिकारिक निर्णय र पत्रहरूमा शेरबहादुर देउवाको हटाएर सभापति गगन थापाको हस्ताक्षर राख्ने निर्णय पनि केन्द्रीय समिति बैठकबाट भएको छ। सो निर्णय पनि निर्वाचन आयोगलाई जानकारी दिनेछ।
पहिलो केन्द्रीय समितिको बैठकले देवराज चालिसेलाई प्रवक्ता तोकेको छ।
प्रवक्ता चालिसेले बैठकको निर्णय सुनाउँदै आवश्यक विवरण अध्यावधिक गराउने तयारी भएको बताएका हुन्।
उनले शेरबहादुर देउवाको ठाउँमा गगन थापाको हस्ताक्षर राखिने बताए।
‘पार्टीको दोस्रो विशेष महाधिवेशन पछि निर्वाचन आयोगमा हिजोका अभिलेखलाई आवधिक गर्न जेजति निर्णय घटनाक्रम भएका छन्। त्यसलाई अपडेट गर्दै लाने हाम्रो निर्णय भएको छ,’ उनले भने, ‘उम्मेदवारहरूका लागि हस्ताक्षर परिवर्तन गर्ने, समानुपातिक सूचीमा संशोधन गर्ने, दस्तखत परिवर्तन गर्नुपर्ने आवश्यकता गर्ने लगायत निर्वाचन आयोगमा बाँकी कानुनी दायित्व पूरा गर्ने निर्णय भएको छ।’
शुक्रबार पनि केन्द्रीय समितिको बैठक बस्ने उनले बताए।